सिराज खान
नेपालगन्ज, मङ्सिर २९ गते । जेनजी आन्दोलनपछि जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले बाँकेमा विभिन्न आपराधिक र गैरकानुनी कार्य रोक्न कडाइ बढाउँदै लगेको छ।
अवैध आयात, तस्करी, लागु औषध कारोबार र ओसारपसार विरुद्ध अति नै कडाइ गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा बालुवा तथा माटो उत्खनन एवं ढुवानी गर्नेहरुविरुद्ध पनि एक्सन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीका अनुसार जिल्लाका विभिन्न खोला नाला र स्थानहरुबाट अवैध रुपमा बालुवा तथा माटो उत्खनन एवं ढुवानी गर्ने कार्य भइरहेको सूचना आएकोले प्रहरीले सो रोक्ने अभियान पनि तीव्र पारेको छ ।
उहाँले सोही क्रममा खजुरा गाउँपालिका वडा नम्बर ५, ६ र ८ को क्षेत्रमा अवैध रुपमा बालुवा, माटो उत्खनन एवं ढुवानी गर्ने कार्य भइरहेको जानकारी आएकोले प्रहरीले छापा मारेर सो कार्यमा संलग्न जेसिबी एक, टिप्पर एक र ट्याक्टर ११ वटा गरेर १३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
ती सबै सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको पनि प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक पातलीले बताउनुभयो ।
अवैध रुपमा बालुवा, माटो उत्खनन एवं ढुवानी गर्ने कार्य भइरहेको गुनासो डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका विभिन्न स्थानबाट पनि आएकोले सो क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।