काठमाडाैं, मङ्सिर २९ गते । नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो । उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालीन मोरङ क्षेत्र नम्बर–१ बाट दुई पटक निर्वाचित सांसद हुनुहुन्थ्यो ।
२०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उहाँ शिक्षामन्त्री बन्नुभएको थियो । यसैगरी, उपाध्यायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हासिल गर्नुभएको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत बन्नुभएका उहाँ समाजसेवा र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताउनुभयो ।
बैठकले शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । सहमहामन्त्री उपाध्यायका अनुसार काँग्रेसले मङ्सिर २९, पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यलय, प्रदेश र जिल्ला कार्यलयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको हाे ।
बैठकले पुस १ गते तीन वटै तहका पार्टी कार्यलय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म तीन वटै तहका पार्टी कार्यलयमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको सहमहामन्त्री उपाध्यायले बताउनुभयो ।