• २९ मङ्सिर २०८२, सोमबार

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

blog

तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको छ । 

सङ्घका अध्यक्ष डा.रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक ९३ वर्षीया काइँली मिजार, ८३ वर्षीय बलराम खत्री र सावित्री क्षेत्रीलाई रोग प्रभावित भएर पनि उपचार गरी सक्रिय प्रेरणादायी जीवन बाँच्नुभएकोमा जनही नगद पाँच हजारसहित सम्मान गरिएको हो । 

शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासले उहाँहरुलाई सम्मान गर्दै कुष्ठरोग लागेपछि पनि समयमै उपचारको पहुँचसम्म पुग्न नागरिकलाई चेतनाको अझै खाँचो रहेको बताउनुभयो । उहाँले कार्यक्रममा सम्मानित जेष्ठ नागरिकले रोग लागेपछि नलुकाई उपचार गर्दा सन्चो हुने उदाहरण बन्न सफल  हुनुभएको र यसै गरी अन्य रोग लाग्दा जस्तै गरी कुष्ठरोग लाग्दा पनि उपचार सम्भव छ, भन्दै उपचार गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । 

सो अवसरमा सङ्घका नेपालगन्ज शाखाका सभापति डा.जि.राज शाक्यले आफूले यस रोगसम्बन्धी परिक्षण गर्दा विगतमा १५० जनासम्म कुष्ठरोगी भेटिन्थे भने हाल सो सङ्ख्या कम भेटिन थालेको बताउनुभयो । उहाँले कुष्ठरोगको समयमै उपचार गरे पूरै निको हुने बताउँदै समाजमा कुष्ठरोग लुकाउने र समयमा उपचार नगर्ने समस्या हटाउन नागरिक समाज र राज्यको दायित्व अझै धेरै रहेको उल्लेख गर्नुभयो ।  

सो अवसरमा सङ्घका महासचिव विष्णुलाल श्रेष्ठले २०८१ र २०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । सङ्घको विविध प्रगति विवरणमा हाल फर्पिङस्थित नेपाल कार्ल गेरोल्ड बाल निकेतन छात्रावासमा कुष्ठरोग प्रभावितका ५८ जना बालबालिका २८ छात्र र ३० छात्रालाई आवास, शिक्षा र अन्य सुविधा प्रदान गरिएको उल्लेख छ ।

त्यसै गरी गत वर्षको एसईईमा ६ जनामध्ये ४ ले बी ग्रेड र २ ले सी ग्रेड प्राप्त गरेका थिए । हालसम्म ७५५ विद्यार्थीले संघको सहयोगमा विद्यालय स्तरको शिक्षा पूरा गरेका छन् । साथै उच्च शिक्षा छात्रवृत्ति पनि दिइरहेको छ । नर्सिङ, आईटी, मेडिकल ल्याब, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा २६ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । 

यसमार्फत हालसम्म १८९ जना लाभान्वित भएका छन् । सामुदायिक विद्यालयमा कुष्ठ प्रभावित तथा द्वन्द्वपीडितका ५८ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । महासचिव श्रेष्ठले सङ्घले सञ्चालन गरेको खोकना आरोग्य आश्रममा १३३ जना र पोखरा आश्रममा १३ जना कुष्ठ प्रभावितलाई खाद्यान्न, लत्ता कपडालगायत सुविधा प्रदान गर्दै आएको र ६७ जनाले जीवन निर्वाह भत्ता पाइरहेको जानकारी दिनुभयो ।

सङ्घले कुष्ठ प्रभावितका लागि सामाजिक पुनस्र्थापना अन्तरगत १८० घर निर्माण गरी २५८ परिवारका ७०० जनालाई पुनस्थापनाको सुविधा पनि प्रदान गरेको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता तथा अपाङ्गता व्यवस्थापन शाखा टेकुका अनुसार तराई र पहाडका १८ जिल्लामा कुष्ठरोगको प्रकोप बढी रहेको र वार्षिक करिब तीन हजार नयाँ बिरामी फेला पर्ने गरेको छ ।  

सो अवसरमा पोखरा शाखाका सभापति सुवास तझ्या, धनगढी शाखाका सभापति सीताराम जैसीलगायतले शाखाका गतिविधीबारे चर्चा गर्नुभयो । सभामा सहभागी विज्ञ, उपचारमा संलग्न व्यक्तित्वले उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि समाजमा यस्तो रोग लागेका व्यक्तिलाई भेदभाव गर्ने प्रवृत्तिले रोग लुकाउने अवस्था रहेकोबारे छलफल गर्दै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । 

सङ्घका चार शाखामार्फत कुष्ठ रोग प्रभावितका लागि उपचार, छात्रवृत्ति, आवाससहित  शिक्षा, पुनस्र्थापना र जनचेतना फैलाउँदै कुष्ठरोग नियन्त्रणको प्रयास जारी राखेका छन् ।