• १२ कात्तिक २०८१, सोमबार

बढ्यो भाइमसलाको व्यापार

blog

काठमाडौँ, कात्तिक ११ गते । तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला (नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता) दिने प्रचलन छ । 

सोही अनुसार उपभोक्ताले अहिलेदेखि नै भाइमसला किन्न थालेका हुन् । आगामी बुधबारदेखि यस वर्षको तिहार सुरु हुने भए पनि अहिलेदेखि नै उपभोक्ताले तिहारका लागि आवश्यक पर्ने सामान खरिद गर्न सुरु गरेका छन् । 

तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । जस कारणले गर्दा पनि व्यवसायीले तिहारलक्षित ठुलो परिमाणमा बाहिरी मुलुकबाट भाइमसला आयात गरेका छन् । 

न्युरोडस्थित मखन टोलमा शनिबार भाइमसला खरिद गर्ने ग्राहकको भिड थियो । शनिबार बिदाको दिन परेकाले पनि अधिकांश पसलमा सामान खरिद गर्ने ग्राहकको भिड थियो । बानेश्वरबाट सामान किन्न गएकी सुमित्रा न्यौपाने पछि भिड हुने भएकाले अहिलेदेखि नै सामान खरिद गर्न सुरु गरिएको जानकारी दिनुभयो । तिहारको भाइमसला किन्नु नै पर्ने र पछि भिडभाड हुने गरेकाले पनि सामान खरिद गरेको उहाँको भनाइ छ । भाइमसलाको मूल्य भने केहीमा सामान्य बढे पनि विगतका वर्षसरह रहेको उहाँले जानकारी दिनुभयो । 

मखन टोलस्थित मसला व्यापारी एमी साहीले तिहार नजिकिँदै गरेकाले पनि भाइमसलाको व्यापार बढ्दै गएको जानकारी दिनुभयो । सुकुमेल र काजुको मूल्य बढे पनि अन्य भाइमसलाको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । भाइमसला तिहारका बेला बढी बिक्री हुने हो, व्यापार बढ्दै गएको छ, तिहार आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । 

खुद्रा व्यवसायीका अनुसार बजारमा काजु प्रतिकिलो दुई हजार रुपियाँ मूल्य रहेको छ । यस्तै बदाम प्रतिकेजी एक हजार सात सय रुपियाँ, पेस्ता प्रतिकेजी दुई हजार रुपियाँ, किसमिस प्रतिकेजी छ सय रुपियाँ, नरिवल प्रतिकेजी छ सय रुपियाँ, खुर्पानी प्रतिकेजी नौ सय, अन्जिर प्रतिकेजी दुई हजार रुपियाँ, ल्वाङ प्रतिकेजी दुई हजार, सुकमेल प्रतिकेजी तीन हजार पाँच सयदेखि चार हजार रुपियाँ, अलैँची प्रतिकेजी एक हजार पाँच सय, दालचिनी ५५० रुपियाँ मूल्य रहेको छ । यस्तै काँचो बदाम २३० रुपियाँ, मिश्री प्रतिकेजी १८० रुपियाँ मूल्य रहेका छन् । 

खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य सामान्य बढ्न गएको बताउनुभयो । सबै सामान मूल्य बढेको छैन, बढेको मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी काजु र सुकमेलको मूल्य बढेको उहाँको भनाइ छ । सबै सामान विदेशबाट आयात हुने गर्छ, थोक व्यापारीले बाहिरीबाट मूल्य बढेर आएको भन्ने गरेको उहाँको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष प्रतिकेजी एक हजार पाँच सय रुपियाँ रहेको काजुको मूल्य बढेर दुई हजार पुगेको छ । यस्तै गत वर्ष प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ मूल्य रहेको सुकमेलको मूल्य बढेर अहिले चार हजार पुगेको छ । अन्य मसलामा भने खासे मूल्य नबढेको व्यवसायीको भनाइ छ । 

नेपालमा उत्पादन भहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ । नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको छ । 

उत्पादनको अवस्था

आफ्नो देशमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । गत वर्ष सोही तिन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको भाइमसला आयात भएको छ । कात्तिक महिनामा पनि तिहारलक्षित भाइमसला व्यापारीले ल्याउने गरेका छन् । 

तिहारमा खपत बढी झिलिमिली बत्ती, पाला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, सेल पकाउनका लागि कराही बिक्री हुन थालेको व्यवसायीको भनाइ छ । तिहारमा उपहार दिनका लागि ढाका टोपी, कपडासँगै मिठाईको बिक्री पनि धेरै हुने गरेको छ । तिहारमा बढी मिठाई खपत हुने हुँदा व्यवसायीले तिहारलक्षित मिठाई बनाउन सुरु गर्न थालेका छन् ।