• १३ असोज २०८१, आइतबार

कैलालीको तीन पालिकामा चार वडाअध्यक्ष विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) जेठ १ गते । कैलालीको घोडाघोडी, बर्दगोरिया र भजनी नगरपालिका तथा गाउँपालिकामा आईतबार दिउँसोसम्म फरक फरक राजनीतिक दलका चार जना वडा अध्यक्ष विजयी भएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकामा वडा १, २ , र १२ को मतगणना शनिवार विहानबाट शुरु भए तापनि आईतबार दिउँसो वडा नम्बर १२ को मतगणना सकिएसँगै नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामदुलारे चौधरीको प्यानल विजयी भएको छ । उहाँले नेकपा एमालेका खडकबहादुर चौधरी (उमार)लाई ४७५ मतको अन्तरले पछि पार्दै विजय हुनुभएको हो । विजयी चौधरीले आठसय २६ मत प्राप्त गर्नुभएको छ ।

सहायक निर्वाचन अधिकृत उमेशराज रेग्मीले घोडाघोडीको १२ वटा वडामा जम्मा खसेको मत ३३ हजार ६४९ रहेको जानकारी दिनुभयो । आईतबार साँझसम्म सात हजार मत गणना भएको जनाउदै उहाँले वडा नम्बर २ र १ को मतपरिणाम सोमबार दिउँसोसम्म आउन सक्ने बताउनुभयो । घोडाघोडी नपाको प्रमुखमा नेकपा समाजवादीले अग्रता लिएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

त्यसैगरी बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ६ मा समेत वडाअध्यक्ष दुई फरक पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा एमालेका उम्मेदवार मिथुन गौतमले ७९५ मत प्राप्त गर्दै अध्यक्षपदमा विजयी हुनुभएको छ । त्यसैगरी आईतवार दिउँसो सम्मको मतपरिणाममा बर्दगोरिया गाउँपालिकाको वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका रामकृष्ण डँगौरा थारु (रञ्जित) विजयी हुनुभएको छ । 

बर्दगोरिया गाउँपालिकामा आईतबार साँझसम्म प्रमुखमा एमालेले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

कैलालीको दक्षिण क्षेत्रमा रहेको भजनी नगरपालिकामा समेत वडाअध्यक्षको मतपरिणाम आउनु शुरु भएको छ । आईतवार दिउँसोसम्म वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार  सन्जिव चौधरीले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा जम्मा दुई हजार ९२८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । 

गौरिगंगा नगरपालिकामा आईतबार साँझसम्म वडा नम्बर १ र २ को तीनहजार मतगणना भएको छ । प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको अग्रता रहेको बताउदै निर्वाचन अधिकृत निराजन पाण्डेले वडाको अन्तिम परिणाम आइनसकेको बताउनुभयो ।