• २६ पुस २०८१, शुक्रबार

महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्ती

blog

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै संविधान सभा सदस्य रामचन्द्र पोखरेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १० गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएका योगदानको बारेमा तनहुँमा चर्चा गरिएको छ । महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्तीका अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा गरेको रचना वाचन कार्यक्रममा सहभागीहरूले देवकोटाको योगदानको चर्चा तथा समीक्षा गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले महाकवि देवकोटाको जस्तो निस्वार्थ, त्यागको भावनाको अनुसरण गर्ने हो भने देशको विकास हुने बताउनुभयो । कसैको पनि दुःख देख्न नसक्ने महाकविको स्वभाव नेता हुनु आवश्यक रहेको बताउनुभयो । संविधान सभा सदस्य पोखरेलले भन्नुभयो, "देवकोटाका कवितामा मात्रै समाज सुधारक नभएर व्यक्तिगत जीवन पनि सादा  र परोपकारी भावनाको थियो, नेताहरू देवकोटा जस्तै निःस्वार्थी हुने भयो विकास छिटो हुन्छ ।"

कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् व्यासका अध्येता काशीनाथ न्यौपानेले देवकोटा आफू भोको बसेर र परिवारलाई दुःखमा राखेर भए पनि समाजमा दुःख पाएका व्यक्तिलाई सहयोग गर्ने स्वभाव रहेको स्मरण गर्दै देवकोटा समाज सुधारक रहेको बताउनुभयो । 

देवकोटा आफूले लगाएको कपडा तथा साथमा भएको सबै रकम दुःखीलाई दिएर आफू भोकै बसेको स्मरण गर्नुभयो । साथै न्यौपानेले देवकोटाको कविता समाजलाई रूपान्तरण गर्ने किसिमको भएको उल्लेख गर्दै पछिल्लो समय साहित्य क्षेत्र भड्किलो किसिमको भएकोमा सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तनहुँका साहित्यकार सागर उदास, समुन्द्र गोदार, डा। रघुनाथ न्यौपाने, राजु दाहाल, डा. लक्ष्मीकान्त चापागाईँ, कमलामोहन वाग्ले, अन्जु दाहाल, रमा वाग्ले, तेजप्रसाद लामिछाने, बिरुगणेश उपरकोटी, चक्रबहादुर अधिकारी, देवप्रसाद पोख्रेल, सिता शर्मा, जमुना मल्ल, कृष्णहरि वाग्ले, चन्द्र कायस्थ, मधुमाया घिमिरे लगायतले देवकोटाका सिर्जनाहरू साहित्य अनुरागीका लागि मात्र नभएर सबैका लागि प्रेरणादायी रहेको कुरामा जोड दिनुभयो । साथै वक्ताहरूको सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा नेपाली साहित्यको भण्डार भर्नुभएका देवकोटाका सशक्त र सामाजिक चेतनायुक्त रचनाले नेपाली साहित्यको गरिमा उच्चो बनाएको भनाई थियो ।

वि.सं. १९६६ सालमा तिहारको लक्ष्मीपूजाको दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइँलो छोराको रूपमा देवकोटा जन्मनुभएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । देवकोटा नेपाल सरकारका शिक्षा मन्त्री समेत बन्नु भएको थियो । 

काठमाडौँमा त्यतिबेला मध्यम परिवारमा जन्मिनु भएका देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उहाँलाई लक्ष्मीको प्रसादको रूपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत पर्नु भएको थियो । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री बन्नु भएको थियो  । 

नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिनु भएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।