• ४ जेठ २०८१, शुक्रबार

भारतका प्रधानमन्त्री मोदी साेमबार लुम्बिनी आउनुहुँदै

blog

लुम्विनी, जेठ १ गते । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार बिहान लुम्बिनीमा भ्रमणको लागि आउनु हुनेभएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्बिनी आउनु हुने भएको हो । 

यस अघि तय भएको कार्यक्रमअनुसार प्रधानमन्त्री मोदी भारतको कुसिनगर हुँदै हेलिकप्टरबाट सिधै लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत १८ देखि २० गतेसम्म गर्नुभएको भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएसँगै प्रधानमन्त्री मोदी  २५६६ औं बुद्ध जयन्ति तथा लुम्बिनी दिवस (बुद्ध पूर्णिमा) को अवसरमा लुम्बिनी आउने लाग्नुुभएको हो ।   

भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेश्नल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको नेपाल र भारतका प्रधानमन्त्रीले शिलन्यास गर्नुहुनेछ । 

उहाँले मायादेवि मन्दिरमा पुजा अर्चना गर्नु हुनेछ ।  सोमबार नै प्रधानमन्त्री देउवाले नवनिर्मित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । 

भ्रमणसँगै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शैक्षिक, संस्कृति एवं प्राविधिक विषयमा सहकार्य गर्ने सम्बन्धी पाँच वटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षर हुनेमा लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग इन्डियन काउन्सिल फर कल्चरल रिलेसन(आइसिसिआर) रहेका छन् । 

साथै, काठमाडौं विश्वविद्यालयसँग नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासबीच सम्झौता हुने भएको छ । प्रधानमन्त्री मोदी साेमबार नै भारत फर्कनु हुनेछ । 

कार्यक्रममा प्रथम महिला डा. आरजु राणा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष प्रेम आले, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँड, भौतिक योजना तथा यातायात मन्त्री रेणु यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मुख्यसचिव शंकर बैरागी लगायत सहभागी हुनुहुनेछ ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।