रुसी ‘जासुस ह्वेल’ नर्वेको तटनजिकै समुद्रमा मृतावस्थामा फेला परेको छ । यो ह्वेललाई रुसी सेनाले तालिम दिएको र जासुसी गर्न प्रयोग भएको आशङ्का गरिएको छ ।
‘ह्वाल्दिमिर’ नाम दिइएको यो ह्वेल दक्षिण पश्चिमी नगर रिसाभिका नजिकै समुद्रमा भेटिएको थियो । त्यसलाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगियो । नर्वेको समुद्रमा पाँच वर्षअघि पहिलोपटक देखा परेको उक्त ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो र त्यसमा ‘गोप्रो’ क्यामरा जडान गरिएको थियो ।
उक्त पट्टीमा ‘सेन्ट पिटर्सवर्गको उपकरण’ लेखिएको थियो । त्यसपछि उक्त समुद्री जीव जासुस हुन सक्ने चर्चा चल्यो । विज्ञहरूले विगतमा पनि ह्वेल प्रयोग गरेर जासुसी हुने गरेको बताएका छन् तर मास्कोले उक्त विषयबारे कुनै प्रतिक्रिया दिएको छैन ।
‘मरिन माइन्ड’ नामक संस्थाले मृत ह्वाल्दिमिर फेला पारेको थियो । उक्त ह्वेल मृत्युको कारण थाहा भएको छैन र त्यसको शरीरमा देखिने खालको कुनै चोटपटक पनि देखिँदैन । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ । ह्वेल ६० वर्षसम्म बाँच्न सक्छ ।