• १० कात्तिक २०८१, शनिबार

बाढीपहिरोबाट २१ वटा झोलुङ्गे पुलमा क्षति

blog

सिन्धुलीको बलेनी र रामेछापको हेर्देनी जोड्ने सुनकोशी नदीको बाढीले बगाएको झोलुङ्गेपुल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, कात्तिक ८ गते । सिन्धुली जिल्लामा असोजको दोस्रो साता गएको बाढीपहिरोबाट २१ वटा झोलुङ्गेपुलमा क्षति पुगेको छ । सुनकोशी नदी तथा विभिन्न खोलानालामा आएको बाढीले बगाएर ती पुलमा क्षति पुगेको हो । 

सुनकोसी नदीमा आएको बाढीले बगाएर फिक्कल गाउँपालिकामा छ वटा, सुनकोशी गाउँपालिकामा पाँच वटा, गोलन्जोर गाउँपालिकामा चार वटा झोलुङ्गे पुल बगाएको छ ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा बागमती नदीको बाढीले बगाएर चार वटा र कोखाजोर खोलाको बाढीले बगाएर दुई वटा उक्त पुलको क्षति भएको छ। फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले सुनकोशी नदीको बाढीले पालिकाभित्र चार वटा पुल पूर्णरुपमा बगाएको र दुई वटामा आंशिक क्षति गरेको जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कल गाउँपालिकाबाट ओखलढुङ्गा जिल्लाका विभिन्न गाउँ बस्तीसँग जोड्ने पात्ले, खाङ्साङ्, तीनखण्डेमा गरी चार वटा झोलुङ्गेपुल सुनकोसीको बाढीले पूर्णरुपमा बगाएको छ । त्यस्तै थुल्मे र पञ्चकन्याबाट कटुवा बलखु जोड्ने झोलुङ्गेपुल बगाएर आंशिक क्षति गरेको छ ।

"आंशिक क्षति भएका यी दुई पुल मर्मत गर्न सके सञ्चालनमा आउने खालका छन्", उहाँले भन्नुभयो, "बाँकी अरु भएको ठाउँमा त नयाँ बनाउनुपर्ने अवस्था छ ।" उहाँका अनुसार तीनखण्डे पुल बगाएकाले सुनकोशी पारी रहेको माझी बस्तीका बालबालिका पढ्नबाट वञ्चित भएका छन् ।

माझी समुदायको उक्त बस्तिमा पढन विद्यालय नभएकोले त्यहाका बालबालिका तीनखण्डे झोलुङ्गपुल तरेर फिक्कलको तीनखण्डे आधारभूत विद्यालयमा पढ्न आउथे । "माझी समुदाका बालबालिकालाई पढ्न निकै टाढा जानुपर्ने भएकाले पुल तरेर वारिको नजिकैको  विद्यालयमा पढ्न आउँथे," उहाँले भन्नुभयो, "अब पुल छैन, उनीहरुलाई पो समस्या भयो।"

त्यस्तै गोलन्जोर गाउँपालिकामा पनि चार वटा पुल सुनकोशीको बाढीले बगाएर क्षती गरेको छ । कुखुरेटार, खुर्कोट, ग्वाल्टारको पुल पूर्णरुपमा बगाएको छ भने बेलेनी(हैबार)को पुल आंशिक क्षति गरेको छ । पुल बगाउँदा वारिपारि गर्न नै ठप्प भएको गाउँपालिका अध्यक्ष शङ्कर बरालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, "बलेनी र रामेछापको हेर्देनी जोड्ने पुल मर्मत गर्दा सञ्चालन हुने अवस्था आए पनि अहिले त्यहाँका स्थानीय त्यही पुलबाट जोखिमपुर्ण यात्रा गर्दै आएका छन् । पालिकासँग बजेट, छैन मर्मत गरिदिने कस्ले ?"

त्यस्तै हरिहरपुरगढी गाँउपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ उक्त पालिकाभित्र बाढीले बगाएको छ वटा झोलुङ्गेपुल मध्ये १ नम्बर वडामा दुई वटा कोखाजोर खोला वारपार गर्ने र चार वटा बागमती नदी वारपार गर्ने पुल रहेको बताउनुहुन्छ । उहाँका अनुसार वडा नं. १ मा तीन वटा, वडा नं. ३ मा दुई वटा र वडा नं. ६ मा एउटा झोलुङ्गेपुल बाढीले बगाएर क्षति भएको छ । बाढीपहिरोबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न स्थानीय तहसँग पर्याप्त बजेट नभएकाले सङ्घीय र प्रदेश सरकारको आसमा स्थानीय तह बसेको उहाँको भनाइ छ ।