गाउँमा पहिलो पटक साक्षरता कक्षा सञ्चालन भएको थियो । साक्षर बन्न चाहने पाका उमेरका गाउँलेहरू अक्षर चिन्ने रहर पूरा गर्न कक्षामा आएका थिए । सुखद आश्चर्य चाहिँ के थियो भने कक्षामा पुरुषभन्दा महिला उत्साहकासाथ सहभागी भएका थिए । कतिपय पुरुष साक्षरता कक्षा सञ्चालन भएको स्कुल भवननजिकैको चिया पसलमा गफिएर त्यही साक्षरता कक्षाकै खिसीटिउरी गर्दथे तर एक कान्लोमाथि उक्लेर निरक्षरताबाट मुक्ति पाउने जाँगर उनीहरूमा देखिँदैन थियो । उनीहरू ल्याप्चे छापमै रमाएका थिए तर कुराले भने देशविदेश सबै खर्लप्पै पार्थे । साक्षरता कक्षातिर गइरहेका प्रौढलाई उनीहरू “मर्ने बेलामा हरियो काँव्रmो टोक्न जान लाग्या ?” भनेर जिस्क्याउँथे ।
जुनेलीको उमेर तीन बिस पुग्यो । साक्षरता कक्षामा उत्साहपूर्वक सहभागी हुनेमा उनी पनि एक मुख्य थिइन् । तीन महिनाको कक्षामा उनले एक दिन पनि नबिराईकन वर्णमाला छिचोलिन् । साक्षरता कक्षामा सावाँ अक्षर चिन्ने र लेख्ने अभ्यास राम्ररी चल्यो । शिक्षिकाले एक एक वटा अक्षर लेखेर शब्द बनाउन सिकाइन् । यो पाठ सिकेको दिन जुनेलीले पहिलो शब्द बनाएकी थिइन क म ल । यो शब्द लेख्न र पढ्न सक्ने भएपछि जुनेली यति खुसी भइन् कि उनले जीवनमा त्यस्तो खुसीको कहिल्यै अनुभव गरेकी थिइनन् । उनले कापीभरि नै कमल, कमल लेखिन् र त्यो कापीलाई छातीमा च्यापेर अरूलाई देखाउँदै हिँडिन् । उनले विस्तार आफ्नो नाम जुनेली पनि लेख्न जानिन्, त्यसै गरी नेपाल लेखिन् । उनले अक्षर लेख्न जानेपछि पहिलो शब्द कमल लेख्नुको पछाडिको राम कहानी बेग्ले छ ।
आजभन्दा झन्डै ५० वर्षअघिको कुरा हो । उसको माइती गाउँमा कमल नामका उसकै उमेरको एउटा केटो थियो । उनीहरूको दिनहुँजसो भेट हुन्थ्यो । सँगै बसेर धेरैबेरसम्म नानाभाँतीका कुरा गर्थे ती दुई । जुनेलीकी आमा ऊ सानै छँदा बितेकीले उसलाई आफ्नी आमाको अनुहारसम्म पनि याद छैन । आमा बितेपछि बाले अर्की स्वास्नी ल्याए, जसले जुनेलीलाई कमारीभन्दा बढी केही हुन दिइनन् । जुनेलीका बा प्रायः खेतबारी र गाउँतिरै व्यस्त रहन्थे । बासँग आफ्नो मनका कुरा गर्न उसले मौका पनि पाउँदिन थिई, आँट पनि गर्दिन थिई । त्यसैले उसले मनका कुरा सुनाउने एउटै मान्छे कमल मात्र थियो ।
उनीहरूको गाउँदेखि आधा घण्टाको दुरीमा स्कुल त थियो । त्यहाँ केही छात्रा पनि पढ्न जान्थे । जुनेलीलाई पनि पढ्न जान असाध्यै मन लागेको थियो । त्यसैले एक दिन सानीआमासँग त्यो कुरा भन्दा सानीआमाले “तँ स्कुल जाने भए घरको काम चाहिँ तेरी मरेकी आमाले आएर गर्छे कि क्या हो ?” भनेर उसको सातो खाइन् । त्यसपछि जुनेलीले स्कुल जाने रहर सधैँका लागि मारेकी थिई । सानीआमाले हुन्न भनेपछि त्यो कुरा बालाई भनेर कुनै फाइदा थिएन, थप कुटाइ खानुबाहेक ।
स्कुल पढ्न जान कमल पनि उत्सुक थियो । भेट्दा दुवै जना यो कुरा गर्थे । जुनेलीले एक दिन भनी “तिमी किन स्कुल नगाको ? तिमी त केटा मान्छे पढ्न गए हुन्छ नि ।” कमलले स्कुल जाने प्रयास गर्दा भोगेको तितो अनुभव सुनाउँदै भन्यो, “हामीलाई त स्कुलमा पाइलै टेक्न दिँदैन रैछन्, हाम्रो त आरन नै स्कुल हो रे ।” यसरी एउटी बालिका सौतेनी आमाका कारण र एउटा बालक जातका कारण स्कुल जानबाट वञ्चित भएका थिए । यस्ता उदाहरण यो गाउँ मात्र हैन वारि गाउँ, पारि गाउँ सबैतिर थिए ।
जुनेली कथित माथ्लो जात र कमल कथित तल्लो जातका थिए तर उनीहरूको मन यसरी मिलेको थियो कि जातको कुनै बारले छेक्न सकेको थिएन । जुनेली सौतेनी आमाको खटन अनुसार घरभित्र, बाहिर, बारी, गोठ घाँस, दाउरा, पानी पधेँरो सबै भ्याउँथी, जो उसको बाध्यता थियो । पानी लिन घरदेखि केही तल पधेँरोमा जानु पथ्र्यो । पानी लिएर फर्कंदा बाटो उकालो पथ्र्यो । ऊ झिसमिसेमै पानी लिन जान्थी । पानी भरेर फर्कदा कैयौँ पटक कमल पनि त्यहीँ टुप्लुक्क आइपुग्थ्यो र अरू कोही मानिस छैनन् भने जुनेलीको गाग्री बोकेर उकालो कटाइदिन्थ्यो । उनीहरूलाई पानी किन चल्छ, किन चल्दैन, केही थाहा थिएन ।
बेलुकीपख जुनेली घाँस बोकेर वनबाट फर्किरहेकी हुन्थी, कमल आरनबाट घरतिर लागिरहेको हुन्थ्यो । उसको हातमा आरनमा काम गर्दाको कालो लागेको हुन्थ्यो ।
जुनेलीलाई बाटोमा भेट्दा उसको गोरो गालामा कालो लगाई दिएर कमल दगुथ्यो । जुनेली “असत्ती कहाँको” भनेर रिसाए झैँ गर्थी र घर पुगेर पिँढीमा घाँसको भारी बिसाउनासाथ कोठामा गएर उसको सानो ऐना हेर्थी । गालामा कमलले लगाइदिएको कालो देखेर मुसुक्क हाँस्थी अनि मात्र मजेत्रोले त्यो कालो पुछ्थी । घरमा कोही छैनन् भने त घण्टौँसम्म अनुहार नपुछीकन बस्थी ।
कमलसँग बोलेको उसकी सानीआमाले देखिन् भने “त्यै कामीसँग गएर बाउको नाक काट्ने सुर छ कि क्या हो ?” भनेर हकार्थी । सानीआमाले त्यसो भन्दा जुनेली मनमनै भन्थी, “हो त्यसै गर्न पाए त हुन्थ्यो नि” । पछि पछि त उसलाई सानीआमा रिसाउलिन्, हकार्लिन्, भुत्ल्याउलिन् भनेर डर वा चिन्ता लाग्न पनि छोड्यो । जसो गरे पनि ती सबै प्रताडना उसले खप्नै पथ्र्यो भने के को डर ? यस्तै व्रmममा दिन बिताउँदै जुनेली र कमल कतिखेर बाल्यावस्था पार गरी किशोरावस्थामा पुगे उनीहरूले पत्तै पाएनन् ।
कमलले खै कहाँबाट सिक्यो कुन्नि ऊ मिठो धुनमा बाँसुरी बजाउँथ्यो । उसले एक दिन जुनेलीलाई भन्यो, “हेर जुनेली तिम्रो नाम जस्तै उज्यालो जुनेली रात भएको बेलामा म घरबाटै बाँसुरी बजाएर तिमीलाई सुनाउँछु है ?” नभन्दै जुनेली रातमा कमलले आफ्नो घरको पिँढीमा बसेर बजाएको बाँसुरीको मिठो धुन जुनेलीले राति आँगनको जुठेल्नोमा भाँडा मस्काउँदै सुन्थी । बाँसुरीको धुन सुन्दै भाँडा मस्काउँदा उसलाई भाँडा माझ्ने काम सकिएको पत्तै हुँदैन थियो ।
हेर्दा हेर्दै जुनेली अब राम्रैसित तरुनी भई । अब उसलाई धेरै दिन घरमा राख्नु हुँदैन, बिहे गरेर पठाइहाल्नु पर्छ भन्ने निक्र्यौलमा जुनेलीका बाबु र सानीआमा पुगे । जुनेलीलाई पनि कमलसँग जिन्दगानी बिताउन सम्भव छैन भन्ने थाहा थियो । त्यसैले उसले विवाहलाई सौतेनी आमाको कहरबाट मुक्ति पाउने एक मात्र अवसरका रूपमा लिई ।
अन्माउने बेलामा दुलही जुनेली खासै रोइन, शिर मात्र झुकाइरही । जन्ती अलि तल पुगेपछि बाटामाथि डिलमा अँध्यारो मुख लिएर उभिरहेको कमललाई घुम्टीभित्रबाट देखेपछि भने उसको भक्कानो फुटेर आयो । कमलले बिस्तारै हात हल्लाएको उसले देखी । उसले घुम्टीभित्रैबाट अन्तिम पटक कमललाई हेरी । उनीहरूको यो मौन बिदाइ कसैले चाल पाएन ।
रात र दिनहरू आफ्नै चव्रmमा घुम्दै रहे । जुनेली घरजम गरेर माइतीगाउँदेखि धेरै टाढा पुगे पनि उसले कमललाई कहिल्यै पनि बिर्सिन सकिनँ । जुनेली रातमा ऊ आँगनमा निस्कन्थी र कान थापेर सुन्थी । यसरी सुन्दा उसलाई कतै टाढाबाट बाँसुरीको मधुरो धुन आइरहेको जस्तो लाग्थ्यो । त्यही भ्रममा ऊ कमललाई सम्झेर रमाउँथी ।
जुनेलीको लोग्ने खासै गतिलो मान्छे थिएन । घरमा दुई छाक खान दुःख त थिएन तर लोग्नेको हरेक दिन तासजुवा खेल्ने र घरपरिवारप्रतिको लापरवाह बानीले ऊ दिक्क हुन्थी । एक दिन जनैपूर्णिमाको मेलामा माइती गाउँकी सुन्तलीसँग जुनेलीको जम्काभेट भयो । धेरै समयपछि भेटिएका दौँतरी भएकाले उनीहरू निकैबेर गफिए । सुन्तलीको परिवार लुगा सिउने काम गर्थे । त्यसैले उसलाई कमलको बारेमा थाहा हुनु पर्छ भनेर उसले मुख फोरी “कमलले बिहे ग¥यो ?” सुन्तलीले जवाफमा भनी “ऊ त दिल्लीतिर जान्छु भनेर गाउँबाट गएको दुई वर्ष नाधिसक्यो, उतै घरजम ग¥यो होला, यता आएर पनि के गर्नु र ?” सुन्तलीको वाक्यमा कटु यथार्थ थियो ।
त्यसपछि कमलका बारेमा जुनेलीले कहिल्यै कुनै जानकारी पाइन, सधैँका लागि पूर्णविराम लाग्यो । तर कमल त उसको मनमै थियो । उसले पूजा गर्दा जहिले पनि मनमनै “मेरो कमल जहाँ भए पनि रक्षा गर प्रभु” भनेर थप एउटा फूल चढाउन कहिल्यै पनि बिर्सिन ।
चार वर्षका बिचमा जुनेलीले दुईवटी छोरी जन्माई । उसको लोग्नेले छोरो पाउन भनेर कान्छी स्वास्नी ल्यायो । बाल्यकालमा होस सम्हालेदेखि सौतेनी आमा बेहोरेकी जुनेलीले बिहे गरेको चार वर्षपछि आफ्नै सौता पनि बेहोर्नुप¥यो । उसका छिमेकी आइमाईहरू भन्थे “जुनेली तिम्रो त सौतेनी गरह रैछ” । उसलाई पनि हो जस्तै लाग्थ्यो । यो सौतेनी साइनो उसलाई आफ्नो शरीरसँग छाला टाँस्सिए झैँ टास्सिएको छ जस्तो मान्थी ।
माइतीमा बाल्यावस्थादेखि नै सानीआमाको बुहार्तनमा परेकीले जुनेलीलाई आफ्नो घरको कुनै पनि काम गाह्रो लाग्दैन थियो । किनकि योभन्दा धेरै काम योभन्दा कलिलै उमेरमा उसले भ्याउने गरेकी थिई । उसको लोग्नेको कुनै भर थिएन । उसले छोरो पाउन भनी ल्याएकी कान्छी स्वास्नीले पनि छोरी नै पाए पछि ऊ झन् बिभिन्डिएको थियो । गाउँका उसका साथीसङ्गातिहरूको उपहासको पात्र बनेको थियो । उनीहरू “अब अर्की पनि लेरा, तेस्रीले त छोरै पाउँछे” भनेर उसलाई उडाउँथे ।
जुनेलीले एउटा गज्जबको काम गरी । उसले आफ्नी सौतालाई कहिल्यै पनि सौताको व्यवहार गरिन, बहिनीको व्यवहार गरी । सुरु सुरुमा त सौता ऊसँग अलि गम्किन्थी, घोचपेच पनि गर्थी तर जुनेलीको नम्र व्यवहारले गर्दा उसको केही लाग्दैन थियो । त्यसमाथि झन् आफूले पनि छोरी नै पाएपछि त उसले आफ्नो धरातल बुझ्न थालेकी थिई ।
सूर्य, चन्द्र आफ्नै गतिमा यात्रा गर्दै रहे । जुनेली लगायत सबैका उमेर अघि बढ्दै गयो । यसैबिच उनीहरूका तीन छोरीहरू पनि हुर्किए, पढे, बढे । जेठी छोरीको बिहे भएर छोरो पनि पाइसकेकी थिई । हेर्दा हेर्दै नाति पनि स्कुले विद्यार्थी भइसकेको छ ।
माघे सङ्व्रmान्ति मनाउन छोरी, ज्वाइँ, नाति आएका छन् । जुनेलीले आफूले लेखेको कापी नातिलाई देखाई । नातिले कापी हेर्दै भन्यो, “हजुर आमा तपाईं किन कमल कमल मात्र धेरै लेख्नुहुन्छ ?”
जुनेलीले हाँस्दै भनी “खै किन हो मलाई त कमल कमल लेख्न मात्रै जाँगर लाग्छ बाबु ।” मधुपर्क
वनस्थली, काठमाडौँ