• ४ कात्तिक २०८१, आइतबार

विद्यालयमा पठनपाठन सुरु, तिहार कुर्दै क्षतिग्रस्त शैक्षिक संरचना

blog

काठमाडौँ, कात्तिक ४ गते । दसैँको बिदा सकिएर विद्यार्थीको पठनपाठन सुरु भए पनि असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । 

बाढीपहिरोलगत्तै दसैँको बिदा परेका कारण विद्यालय निर्माणको काम अगाडि बढाउन कठिन भएको थियो । केही विद्यालयको भवन पूर्ण रूपमा भत्किएका कारण तिहारको बिदा सकिँदासम्म पनि पुनर्निर्माण हुन्छ कि हुँदैन भन्ने चिन्ता थपिएको छ । यद्यपि अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाएर भए पनि तिहारपछि पढाइलाई सुचारु गर्ने योजनासाथ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले काम अगाडि बढाएको छ । 

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार मुलुकभरका २५० विद्यालयमा क्षति पुगेको छ र कुन विद्यालयमा कस्तो प्रकारको क्षति पुगेको हो भन्ने यकिन विवरण भने आइसकेको छैन । विवरण सङ्कलन कार्य अझै जारी रहेको केन्द्रले जनाएको छ । 

केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार ती विद्यालयमा भएको क्षतिको विवरण अध्ययन गर्न हरेक प्रदेशका सामाजिक विकास मन्त्रालयले स्थानीय तहको समन्वयमा इन्जिनियरको समूह सम्बन्धित विद्यालयमा पठाउने निर्णय गरेको छ । शर्माका अनुसार १० वटा विद्यालयको भवन पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरण केन्द्रमा आएको छ ।

पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयमा टिएलसी बनाउन लागिएको छ तर त्यहाँ स्थायी रूपमा कस्तो भवन बनाउने र ती भवन बनाउन कति लागत पर्छ भन्ने विषयमा सम्बन्धित विद्यालयमा नै गएर अध्ययन गरेपछि मात्रै निर्णय हुने छ । 

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्चुअल माध्यमबाट सबै प्रदेशका सामाजिक विकास मन्त्रालयसँग गरेको अन्तर्क्रियाका आधारमा विद्यालयहरूमा करिब २४ करोड रुपियाँबराबरको क्षति भएको अनुमान गरिएको छ । विद्यालयमा खानेपानीको लाइन काटिएको, बाढी पसेको तथा पर्खाल भत्केको विवरणलाई पनि यसमा समावेश गरिएको छ ।

बाढीपहिरो तथा डुबानका कारण करिब दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी प्रभावित भएका छन् । बाढीपहिरोमा परेर देशभरबाट २० जना विद्यार्थीको ज्यान गएको थियो । 

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले क्षतिको यकिन विवरण सङ्कलनको काम अझै जारी रहेको र त्यो सकिएपछि पुनर्निर्माणबारे निर्णय गरिने बताउनुभयो । “पहिलो चरणमा कुन विद्यालयमा कस्तो क्षति पुगेको छ र पुनर्निर्माण गर्न कति कठिन छ त्यसको विश्लेषण गर्छौं,” भट्टराईले भन्नुभयो, “स्थानीय तहले सक्ने काम उसैले गरिहाल्छ । त्यसबाहेक ठुलो क्षति भएका विद्यालयमा प्रदेशमार्फत काम गर्छौं ।” मन्त्रालयले विद्यालय पुनर्निर्माणका लागि प्रत्येक प्रदेशमा ‘डिजास्टर रेस्पोन्स’ शीर्षकमा रहेको रकम परिचालन गर्ने निर्णय गरिसकेको छ । यस शीर्षकमा हरेक प्रदेशमा दुई करोड रुपियाँ रहेको छ । उक्त बजेटले समेत सम्बोधन हुन नसक्ने काम विपत् व्यवस्थापन कोषबाट अगाडि बढाइने मन्त्रालयको योजना छ । तिहार बिदापछि विद्यालय खुल्ने बेलासम्म पठनपाठन हुने गरी काम गरिसक्ने मन्त्रालयको योजना छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।