• २३ पुस २०८१, मङ्गलबार

विद्यालयमा ढकमक्क सयपत्री फूल, सौन्दर्यसँगै आम्दानीको स्रोत बन्दै

blog

कालीगण्डकीको ध्रुवज्योति मावि परिसरमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक ३ गते ।
 स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका विभिन्न विद्यालयहरूमा यतिबेला सयपत्री फुल ढकमक्क फुलेका छन् । पालिका भित्रका अधिकांश विद्यालयले फूल लगाइएको छ । विद्यार्थी र शिक्षकहरू मिलेर लगाएको फूलले विद्यालयको सौन्दर्य बढाएको छ ।

सयपत्री फूलखेतीमा आफ्नो पहिचान बनाएको कालीगण्डकी गाउँपालिकाले विद्यालयहरूलाई फूलखेतीका लागि प्रोत्साहन गर्दै आएको छ । फूल खेतीका लागि विद्यालयहरू तथा व्यवसायीलाई प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । किसानहरू मार्फत पालिका भित्रको झण्डै ४० रोपनी क्षेत्रफलमा फूल खेती भएको उहाँको भनाइ छ ।

कालीगण्डकी गाउँपालिका–६ को ध्रुवज्योति मावि र वडा नं. ७ को मिर्मी आधारभूत विद्यालय परिसरमा सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहार नजिकिँदै गर्दा दुवै विद्यालय परिसरमा फूलेको सयपत्री फुलले अझै रौनकता थपेको छ ।

ध्रुवज्योति माविले २०७० सालदेखि तरकारी तथा सामान्य खालको रैथाने फूल लगाउँदै आएको थियो तर पछिल्ला केही वर्षमा भने हाइब्रिड जातका फूल व्यावसायिक रूपमा लगाउँदै आएको विद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले बताउनुभयो ।

गएको वर्ष सस्तैमा फूल बेच्नु परेको सम्झँदै प्रधानाध्यापक गाहाले त्योभन्दा अगाडि एक लाख ५० हजार आम्दानी गरेको जानकारी दिनुभयो । गतवर्ष जिल्लामा फूल खपत हुन नसक्दा प्रति केजी एक सयसम्ममा दिनु परेको उहाँको भनाइ छ । यो वर्ष भने फूलले बजार पाउने विश्वास गाहाको छ ।

विद्यालय परिसरमा यो वर्ष दुई हजार हाइब्रिट अमेरिकन मेरिगोल्ड जातको फूलको बेर्ना लगाइएको भन्दै गाहाले एक हजार फूलका बिरुवा बाहिर बिक्री गरिएको बताउनुभयो ।

खाली कक्षा भएको समय तथा पालो मिलाएर फूलखेतीका लागि काम गर्ने गरेको विद्यालयले जनाएको छ । यसबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान समेत प्राप्त भएको प्रधानाध्यापक गाहाले बताउनुभयो ।

विद्यालयले फूलको माला प्रतिगोटा १०० मा बिक्री गर्दै आएको जनाएको छ । फूल तथा बिरुवा बिक्रीबाट जम्मा भएको रकम कोषमा राख्ने गरिएको प्रधानाध्यापक गाहाले बताउनुभयो ।

यस्तै, मिर्मी आधारभूत विद्यालयले विगत चार वर्षबाट व्यावसायिक रूपमा फूल खेती गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बताउनुभयो । बजारको समस्या नरहेको पाण्डेको भनाइ छ ।