• १४ कात्तिक २०८२, शुक्रबार

तीन महिनामा ३०८ वटा हिंसाका घटना

blog

काठमाडौँ, कात्तिक १४ गते । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटना बढ्दै गएका र गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ ।

कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट सङ्कलन गरिएको हो । यस तथ्याङ्कअनुसार कुल ३०८ वटा लैङ्गिक हिंसा घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन् । 

हत्याका घटना र प्रभावितको उमेरलाई हेर्दा सबैभन्दा बढी २९ प्रतिशत (छ जना) १८ देखि २५ वर्ष, हत्या हुनेमा २६ देखि ३५ वर्षका २४ प्रतिशत, १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका छन् । ओरेकले महिलाको हत्यामा संलग्न पीडकलाई हेर्दा श्रीमान र परिवारका सदस्यको संलग्नता नै बढी रहेको पाइएको जनाएको छ । 

जसमा ४३ प्रतिशत महिला (नौ जना) को हत्या श्रीमानबाट र २४ प्रतिशत महिला (पाँच जना) को हत्या परिवारका सदस्यबाट भएको पाइएको छ । यसै गरी, १० प्रतिशत महिलाको छिमेकीबाट, पाँच प्रतिशतको आत्मीय साथीबाट महिलाको हत्या भएको छ भने १४ प्रतिशत हत्या पूर्वपतिबाट भएको जनाइएको छ ।

हत्या प्रभावित र वैवाहिक अवस्थालाई हेर्दा सबैभन्दा बढी ८२ प्रतिशत (१७ जना) विवाहित महिला, १० प्रतिशत (दुई जना) हत्या हुनेमा अविवाहित महिला र नौ प्रतिशतको अवस्था खुलेको छैन । नेपाल प्रहरीको २०८१/०८२ को तथ्याङ्क अनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या, घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको देखिएको जनाएको छ । रासस