• ८ मंसिर २०८१, शनिबार

प्लाष्टिकको फूल र माला प्रयोगमा प्रतिबन्ध

blog

फाइल तस्बिर ।

अमरराज नहर्की

तनहुँ, असोज २४ गते । आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकोले प्रतिबन्ध लगाईएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

चुमानले भन्नुभयो, "स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भएको प्रतिबन्ध लगाएका हौं ।" गाउँपालिका फूलमा आत्मनिर्भर रहेको स्थानीय कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।  

कृषललाई प्रोत्साहन गर्न फूल खेतीमा अनुदानको व्यवस्था गर्नुका साथै पालिकाका कार्यक्रममा स्थानीय माला प्रयोग गरिएको अध्यक्ष चुमानले बताउनुभयो । पालिकाले पालिकाभित्र हुने विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा मालाकै प्रयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । पालिकाले आग्रह गरे बमोजिम आँबुखैरेनीको स्थानीय सांस्कृतिक समूह “रिसेन्ट युथ क्लब’’ द्वारा  दशैंको अवसरमा आयोजना गरिएको सास्कृति कार्यक्रमा खैरेनी गाउँपालिका–१ स्थित “सयपत्री यान्चोकटार लघु उद्यम महिला समूह’’ द्वारा उत्पादित सयपत्री फूल तथा माला प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ। 

पालिका अनुसार दशैंलगत्तै व्यवसायीहरुले तिहारलाई लक्ष्यित गरी प्लष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले बिक्रीको लागि प्रतिबन्ध गरिएको सूचित गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको हो । 

अध्यक्ष चुमानले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।

प्लाष्टिको फूल र माला प्रयोगमा प्रतिबन्ध  फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित निःशुल्क प्राविधिक ज्ञान, तालिम र ८५  प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । फूल प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको चुमानले बताउनुभयो । 

चुमानले भन्नुभयो, “फूल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौँ  त्यसैले प्लाष्टिकका माला प्रतिबन्ध लगाएका छौं ।" सयपत्री फूलको खेतीबाट उत्साहित भएकाले यस वर्ष पनि निरन्तरता दिइएको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताउनुभयो । गत वर्ष तिहारमा प्रतिकिलो पाँच सय रुपियाँमा फूल बिक्री भएको र ७० जना आबद्ध भएको समूहकी अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो ।