• ४ कात्तिक २०८२, मङ्गलबार

व्यावसायिक फूल खेतीमा किसान

blog

होमराज रानाभाट 

कावासोती (नवलपरासी), कात्तिक ४ गते । पूर्वी नवलपरासीमा हरेक वर्ष कृषक व्यावसायिक फूल खेतीतर्फ आकर्षित बन्दै जान थाले पछि फूल खेतीमा जिल्ला आत्मनिर्भर बनेको छ ।

छोटो समयमै मनग्य आम्दानी हुने भएपछि कृषकहरू धान खेतीको विकल्पका रूपमा फूल खेतीलाई लिन थालेका देबचुलीका फूल उत्पादन गर्ने कृषक बसन्त पोखरेलले बताउनुभयो । देवचुली नगरपालिका-१५ का कृषक पोख्रेलको दैनिकी अहिले फूल बगैँचामा बित्ने गरेको छ। पोख्रेलले लगाएका सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारका लागि फूल तयार भइसकेकाले बगैँचामै ग्राहकको भीड बढ्न थालेको छ भने माला समेत त्यहीं बनाएर बिक्री हुने गरेको पोखरेलको भनाइ छ । पोखरेलकोे बगैँचाबाटै प्रतिमाला एक सय ६० र फूल प्रतिकिलो छ सय रुपैयाँका दरले बिक्री भइरहेको छ।

भारतीय फूलको आयातलाई कम गर्न र स्वदेशमै फूलको व्यवशायलाई प्रवर्धन गने लक्ष्यका साथ सुरु फूल खेतीले पोखरेललाई उत्साही बनाएको छ। पोख्रेल मात्र होइन पूर्वी नवलपरासीका कृषक पार्वती रानाभाट पनि फूलखेतीबाट राम्रो आम्दानी गर्दे आएकी बताउनुहुन्छ । व्यावसायिक रूपमै दुुई कठ्ठामा फूल खेती गरेकी उहाँको बगैँचाबाट गत वर्ष मात्रै ५५ हजारको बिक्री गरेकाे रानाभाटले बताउनुुभयोे । यस वर्ष यो आम्दानी बढ्ने र दोब्बर हुने उहाँ बताउनुहुन्छ । घरमै बसेर फूलखेतीलाई निरन्तरता दिएकी पार्वतीलाई फूल गोडमेलदेखि बगैँचा स्याहार र उत्पादित फूलको बिक्रीका लागि बजारको पनि अभाव नहुनुने यसतर्फ आकर्षण बढाएको उहाँको भनाइ छ ।

जिल्लाका स्थानीयतहका कृषि शाखाहरूले फूल खेतीमा लाग्ने कृषकहरूलाई प्राविधिक सहयोग गर्दा कृषक अझै उत्साहित रूपमा लागेका गैंडाकोट नगरपालिका-७ का कृषक ईश्वरी चापागाईले भन्नुभयो । जिल्लाको देवचुली नगरपालिकामा मात्र गत वर्ष १३ जना कृषकहरूले छ बिघा जग्गामा फूल खेती गरेका थिए । विशेष गरेर अहिले स्थानीयतहहरूले प्लास्टिकका फूलहरू बिक्री वितरणमा रोक लगाएको र कृषकले उत्पादन गरेको फूल नै प्रयोग गर्नुपर्छ भन्ने सूचना जारी गरेपछि फूल खेती गर्ने कृषक आफ्नो लगानी र परिश्रम खेर नजानेमा ढुक्क छन् भन्नुहुन्छ कावासोती नगरपालिका-१ का कृषक अमरसिंह विक ।

कृषि शाखा कार्यालय देवचुलीले पनि कृषकद्वारा उत्पादित फूलहरूको सहज बजारीकरणका लागि गरेको प्रयास फूल खेतीतर्फ आकर्षण बढाउनका लागि कोषेढुङ्गा बनेको देवचुली नगरका कृषि शाखा प्रमुख गगन भट्टराईले बताउनुभयो। जिल्लामा  उत्पादित फूलहरू भेरहवा, पाल्पा, बुटवल, नारायणगढ, पोखरा र काठमाडौँ सँगै गत वर्षबाट मुलुक बाहिर हङकङमा समेत फूल निर्यात हुने गरेको छ भने अहिले पूर्वी नवलपरासीबाट ठुुलो मात्रामा विदेश निर्यात भएको र आगामी वर्ष यहाँका कृषकले चार सय बिघा भन्दा बढीमा फुूल खेती गर्ने लक्ष्य लिएका मध्यविन्दु नगरपालिका-५ का उदयराज अर्यालले बताउनुभयो ।

छोटो समयमै उत्पादन गर्न सकिने र बिक्रीबाट मनग्ये आम्दानी लिन थाले पछि व्यावसायिक रूपमा सात सय कृषक फुुल खेतीमा आबद्ध् भएका कृषि ज्ञान केन्द्रले जनाएको छ । भने कतिपय कृषकहरू धान खेती छोडेर फूलमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने र लगानी पनि धेरै नलाग्ने कारण पनि जिल्लाका छ पालिकामा गरेको व्यावसायी फूलखेती सबैको आकर्षण बनेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुुभयो ।