• ३ कात्तिक २०८२, सोमबार

चीनको आरोप-अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो

blog

बेइजिङ, कात्तिक ३ गते । जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ । 

चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत आपूर्तिमा समेत अवरोध पुर्‍यायाउने सम्भावना रहेको उल्लेख छ । मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा रहेको कमजोरीको फाइदा उठाई राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीको उपकरणबाट संवेदनशील सूचना चोरी गरेको थियो । 

तर मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन । एनएसएले केन्द्रका विभिन्न आन्तरिक नेटवर्क प्रणालीलाई लक्षित गर्दै ४२ प्रकारका ‘विशेष साइबर हतियार’ प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म एक प्रमुख समय प्रणालीमा घुसपैठ गर्ने प्रयाससमेत गरेको चीनको भनाइ छ । उक्त जानकारी मन्त्रालयले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा प्रकाशित गरेको थियो ।

वक्तव्यमा मन्त्रालयले आफूसँग प्रमाण रहेको दाबी गरे पनि ती प्रमाण पोस्टमा सार्वजनिक गरिएको छैन । चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता प्रमुख क्षेत्रमा समय मापन तथा वितरण सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयले जोखिम न्यूनीकरणका लागि केन्द्रलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ ।

“अमेरिकाले अरूलाई निरन्तर दोष लगाउँदै आफ्नै कार्यलाई ढाकछोप गर्न खोज्दै आएको छ । उसले बारम्बार चीनमाथि साइबर आक्रमणका झूट्टा आरोप लगाइरहेको छ”, मन्त्रालयको वक्तव्यमा भनिएको छ । यसअघि पनि पश्चिमी मुलुकले चीनसँग सम्बन्धित ह्याकरले सरकारी निकाय, सञ्चार माध्यम, व्यापारिक संस्था तथा अन्य संवेदनशील क्षेत्रमा आक्रमण गरेको दाबी गर्दै आएका छन् । 

तर यस पटक चीनको वक्तव्यले व्यापार, प्रविधि र ताइवान सम्बन्धी विवादमा वासिङ्टन र बेइजिङबिचको तनाव अझ तीव्र बनाउन सक्ने सङ्केत देखाएको छ । अमेरिकी दूतावासले भने चीनको यो आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । चिनियाँ वक्तव्यले अमेरिकालाई नै विश्वभर साइबर आक्रमणको सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा चित्रित गरेको छ । रासस/एपी