• ४ कात्तिक २०८२, मङ्गलबार

झिलिङ्गा बेचेर चाडपर्वमा खर्च जोहो

blog

महिलाले बनाएको झिलिङ्गा परिकार । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ४ गते । तनहुँको व्यास नगरपालिका–३, देउरालीनगरकी महिलाहरूले झिलिङ्गा बिक्री गरेर चाड पर्वको खर्च जुटाएका छन् । आय–आर्जन आमा समूहमा आबद्ध महिलाले यस वर्ष मात्र करिब तीन लाख रुपियाँ बराबरको झिलिङ्गा बिक्री गर्न सफल भएका छन् ।

समूहकी सदस्य सुकमाया थापाका अनुसार उत्पादित झिलिङ्गाको बजारको समस्या छैन । दसैँ र तिहारको समयमा उत्पादन गरेको झिलिङ्गा स्थानीय बजारमा बिक्री भइरहेको छ । “यो आम्दानीले हामीलाई चाडपर्व मनाउन सहज हुन्छ” थापाले भन्नुभयो, “खर्च जोहो मात्र होइन, केही रकम बचत पनि हुन्छ ।”

अर्की सदस्य बिहीसरा गरञ्जा झिलिङ्गा बेचेर चाडपर्वका खर्च जुटेको बताउनुभयो । समूहका अनुसार झिलिङ्गा प्रतिगोटा १५ रुपियाँमा बिक्री भइरहेको छ । रङ र अखाद्य वस्तु मिसावट नगरेकाले ग्राहकहरूले “स्वच्छ र स्वादिलो” भन्दै खोजी खोजी किन्न आउनेगरेको उहाँहरूको अनुभव छ । 

“खेर गइरहेको समयको सदुपयोग गरी फुर्सदको समयमा झिलिङ्गा बनाउने गरेका छौँ” उहाँले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रका महिला आत्मनिर्भर बन्दै गएका छन् । गत वर्ष खर्च कटाएर एक सदस्यको भागमा ६० हजार रुपियाँ हात परेको यस पटक धेरै बिक्री भएको बढी आम्दानी हुने अपेक्षा गरिएको गरञ्जाले जानकारी दिनुभयो । 

कतै पनि रोजगारीको अवसर नपाएपछि देउरालीनगरका चार महिला मिलेर सामूहिक पेसा थालेको उहाँले बताउनुभयो । झिलिङ्गा बनाउने, सुकाउने तथा व्यवस्थापन गर्नेलगायतका काम बाँडेर सामूहिक रूपमा उत्पादन गर्दैआएका छन् । समूहका अनुसार चाडपर्व बाहेक अन्य समयमा पनि मानिस भातखुवाइ, व्रतबन्ध विवाह,  कोशेली लान र केटाकेटीलाई खाजाका रूपमा प्रयोग गर्न झिलिङ्गा लिन आउने गरेका छन् ।