• ४ कात्तिक २०८२, मङ्गलबार

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

blog

नवलपुर (नवलपरासी), कात्तिक ४ गते । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् । 

कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए । “पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उहाँले भन्नुभयो, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिनुभयो । 

जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताउनुभयो । स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उहाँले बताउनुभयो । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना) ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ । 

कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रूपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताउनुभयो । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ । 

यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उहाँले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु भएको बताउनुभयो । स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु सिंहले सुझाव दिनुभयो । 

घर बाहिर यस्ता ठाउँमा काम गर्नुपरेमा माइट निवारक स्प्रे प्रयोग गरेर काम गर्नुपर्ने सिंहको भनाइ छ । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण भएको उहाँले बताउनुभयो । 

स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भन्दै उहाँले दुखाइ कम गर्ने औषधी सेवन गर्न नहुने बताउनुभयो । अस्पताल गएर चिकित्सकको परामर्शमा मात्रै औषधी खाएमा रोग निको हुने उहाँको भनाइ छ । रासस