• ४ कात्तिक २०८२, मङ्गलबार

विगतको सिकाइ र भोगाइबाट यसवर्षको विपदमा मिलेको सफलता

blog

काठमाडौँ,  कात्तिक ४ गते ।  पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठुलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यसवर्षको मनुसन पूर्वयोजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।

 विपद्को अवस्थामा सरोकारवालाबिच समन्वय, सहयोग र सहकार्य प्रभावकारी हुँदा विगतका तुलनामा यसवर्ष विपदबाट हुने क्षति न्यूनीकरणमा सफलता मिलेको नेपाली सेनाले जनाएको छ । विपद्को स्वरूप र अघिल्लो वर्षको विपद् व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको मनसुन पूर्वतयारी र प्रतिकार्य योजनाको कार्यान्वयनबाट क्षति न्यूनीकरण गर्न सकिएको सेनाको विपद् व्यवस्थापन निर्देशन विष्णुकुमार खड्का बताउनुहुन्छ ।

 “नेपाल हरेक प्रकारका प्राकृतिक प्रकोपका हिसाबले जोखिममा छ, मनसुन पूर्वतयारी र प्रतिकार्य योजना, विगतको सिकाइ र भोगाइसँगै तीन तहका सरकारबिच भएको समन्वयले यसवर्ष जनधनको क्षति न्यून गर्न सकिएको हो”, उहाँले भन्नुभयो ।

यसवर्षको मनसुनमा बाढी, पहिरोलगायत विभिन्न किसिमका मनसुनजन्य विपद् प्रतिकार्यका लागि १६३ स्थानमा जम्मा चार हजार ७२३ जना फौज खट्टिइ विपद् व्यवस्थापनमा सहयोग पुर्‍याइएको सेनाले जनाएको छ । सेनासँगै अग्रमोर्चामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै तीनै तहका सरकारको सहयोग तथा समन्वयमा यसपटक विपद् व्यवस्थापन गरिएको थियो ।

राजमार्गमा यातायात रोकिएको तथा सार्वजनिक बिदाका कारण पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सेनाको ठम्याइँ छ । सेनाले गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका घटनामा १८ जिल्लाबाट एक हजार ८२ जनालाई सकुशल उद्धार गरेको थियो । इलाम र झापामा बाढी तथा पहिरोमा फसेका २३ जनाको सैनिक हवाई साधनमार्फत उद्धार गरिएको थियो ।

कोशी प्रदेश सरकारको अनुरोधमा इलामको माङ्सेवुङ गाउँपालिकाको गजुरमुखी क्षेत्रमा ७९४ किलो राहत सामग्री ढुवानी गरिएको छ । इलाममा हाल पनि विपद् व्यवस्थापनको कार्य भइरहेको सेनाले जनाएको छ ।

गत वैशाख १ देखि असोज १९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा, डुबान, चट्याङलगायत चार हजार ६५ विपद्का घटनामा २८५ जनाको मृत्यु, २७ बेपत्ता र एक हजार ७२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसवर्षको मनसुन रसुवा र इलाम बढी प्रभावित भएका थिए । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाएको छ । इलाममा मात्रै पहिरोमा परी ३८ जनाको मृत्यु भएको थियो । नेपालबाट यस वर्षको मनसुन गत असोज २४ गतेदेखि बाहिरिसकेको छ ।

 गतवर्ष २५१ स्थानमा भएको डढेलो तथा २०२ स्थानमा भएको आगलागी नियन्त्रणका लागि १० हजार ६६३ फौज खटिएका थिए । यस्तै महाकाली नदीमा नदीजन्य पदार्थ व्यवस्थापन गरी सम्भावित क्षति न्यूनीकरण गर्न महाकालीको पूर्वतर्फ २५२ मिटर लामो तटबन्ध, पश्चिमतर्फ दुई हजार ६०० मिटर र मध्य भागमा ५२५ मिटर लम्बाइको च्यानल बनाइएको सेनाले जनाएको छ ।

सेनाले स्वदेशमा मात्र नभई म्यानमारमा पुगी गत चैत्रको भूकम्पपछि प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेनाको टोलीले एक हजार ३५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । रासस