• १८ पुस २०८१, बिहिबार

दशैँघरमा भित्र्याइयो फूलपाती

blog

तानसेनस्थित दशैँघरमा फूलपाती भित्र्याइँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असोज २४ गते । तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो । यहाँको दशैँघरमा २१० वर्षअघिदेखि फूलपाती भित्र्याउने परम्परा छ। 

दशैँ घरमा नेपाली सेना सहितको टोलीले केराको पात, अदुवा, दारिम, बयर र विभिन्न जातका फूललाई बाजागाजासहित भित्र्याएका थिए । वि.सं. १८७१ मा पाल्पामा तैनाथ तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दशैँघरमा फूलपाती भित्र्याउने परम्पराको सुरुवात गर्नुभएको थियो । 

सोही बेलादेखि दशैँघरमा फूलपाती भित्र्याउने परम्परा कायमै रहेको इतिहासविद् निर्मल श्रेष्ठले जानकारी दिनुभयो । दशैँघरमा पुलपाती भित्र्याएपछि जिल्लाका विभिन्न स्थानमा रहेका कोटघर, देवीका मन्दिर, थुम्का, थपनामा फूलपाती भित्र्याउने परम्परा रहेको उहाँले बताउनुभयो । 

फूलपाती लिन नेपाली सेना, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैँघरबाट बाजागाजासहित नेपाली सेनाको टुँडिखेलस्थित ब्यारेकमा पुगेका थिए । ब्यारेकबाट ल्याएको फूलपाती विशेष पूजासहित दशैँघरमा भित्र्याइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । फूलपाती भित्र्याउँदा प्रशासनका कर्मचारी, प्रहरी, पुजारी, नेपाली सेनाको टोली सहभागी हुने प्रचलन रहेको उहाँले बताउनुभयो ।