दसैँ सुरु भएपछि बजारमा चहलपहल बढेको छ । नेपालीको महान चाड दसैँमा नयाँ कपडा किन्ने, अन्य सामग्री खरिदबिक्री गर्ने हुँदा बजारमा किनमेल वृद्धि हुन्छ । घरमा जाँदा उपहारस्वरूप केही सामान किनेर लैजाने हुँदा पनि अन्य समयको तुलनामा दसैँमा बजारमा चहलपहल बढ्ने गर्छ । वर्षभरिमा हुने व्यापारमध्ये दसैँमा मात्रै ३० प्रतिशत व्यापार हुने गर्छ, जसकारण चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ । आर्थिक गतिविधि सक्रिय हुने, बजारमा माग र आपूर्ति बढी चाडपर्वकै बेला हुने गर्छ । यसपालिको दसैँ सुरु भए पनि व्यापार व्यवसायमा गएका वर्ष जस्तो उत्साह देखिँदैन । व्यवसायीका अनुसार बजारमा माग न्यून हुँदा कारोबार बढ्न सकेको छैन । बाढीपहिरो आएकाले पनि व्यापार बढ्न नसकेको हो । दसैँमा कारोबार आधा घटेको छ । उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा पनि बजारमा माग कम हुने हुँदा व्यापार फस्टाउन सकेको छैन ।
राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बाढीपहिरोका कारण दसैँमा व्यापार बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार अन्य समयको तुलनामा दसैँमा दोब्बर कारोबार हुने गरेकोमा यसपालि धेरै मानिस विदेश गएको र बजारमा माग नै कम हुँदा कारोबार बढ्न नसकेको हो । चाडपर्वमा विशेष गरी दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, नयाँ सवारीसाधन, भाँडावर्तन, मोबाइल, मसलालगायतका सामानको व्यापार बढी हुने गर्छ । सडकपेटीदेखि ठुलठुला व्यापारिक मलमा अफरसँगै, सेलमा सामान बिक्रीमा राखेका छन् ।
दसैँमा सरकारी, गैरसरकारी, निजी कार्यालय र प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलबबाहेक दसैँ भत्ता पनि दिइने भएकाले खर्च बढ्ने गर्छ । अन्य समयको तुलनामा दसैँमा विदेशमा रहेका नेपालीले पनि रेमिट्यान्स धेरै पठाउने गर्दा अर्थतन्त्र चलायमान हुने गर्छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले दसैँमा व्यापार व्यवसाय बढ्ने हुँदा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । उहाँले बाढीपहिरोका कारणले आममानिस पीडामा रहेकाले पनि विगतका वर्षको तुलनामा कारोबार न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त दसैँ खर्च पाउँछन् । दसैँ मिठोमसिनो खाने, राम्रो लगाउने चाड भएकाले दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको छ । यसले ‘शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुगेको छ । दसैँमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।”
विभिन्न कम्पनीका छुट योजना
चाडपर्वमा बजारमा सामानको खपत बढी हुने हुँदा विभिन्न व्यापारिक कम्पनीले दसैँलक्षित विविध अफरसँगै छुट योजना ल्याएका छन् । दसैँमा अफर दिनका लागि कम्पनीबिच होडबाजी हुने गर्छ । सरकारी कम्पनीसँगै निजी कम्पनीले त्यस्ता अफर योजना सार्वजनिक गरेका छन् । यस्तै नेपाल टेलिकमले समेत चाडपर्वलक्षित सहुलियत प्याकेज ल्याएको छ । दसैँतिहार र छठ जस्ता चाडपर्वलक्षित यामाहा नेपालले बाइक तथा स्कुटर खरिद गरेर विभिन्न ग्राहकले स्योरसट नगद उपहारहरू योजना सञ्चालन गरेको छ । यस्तै सिप्रदी ट्रेडिङले टाटा मोटर्स खरिद गर्दा उपभोक्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजको उपहार दिने व्यवस्था गरेको छ ।
यस्तै दसैँमा नेटाको गाडी खरिद गर्दा बाली घुम्न जान पाइने भएको छ । नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले दसैँतिहारलाई ध्यानमा राख्दै अनबिटेबल डिल्स योजना ल्याएको छ । नेटाको यो योजना अन्तर्गत स्योरसट नगद छुट तथा एक्सचेन्ज बोनस पनि पाउन सकिने छ । यसका साथै, नेटा भी खरिद गर्दा बालीको भ्रमण उपहारस्वरूप दिइने भएको छ । यस्तै निसानले कम्पनीले चाडपर्वलक्षित गर्दै आफ्ना गाडी खरिद गर्दा १५ लाख रुपियाँसम्मको छुट दिने भएको छ । नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ नामक योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत निसान गाडीको खरिदमा छ वर्षको इन्धन निःशुल्क पनि पाउन सकिने छ । निजी इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि चाडपर्वलक्षित सहुुलियत योजना सञ्चालन गरेका छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थाले समेत चाडपर्वलक्षित अफर योजना सञ्चालन गरेका छन् ।
सुपथ मूल्य पसल र सुकिला नोट
दसैँमा उपभोक्तालाई सहुलियत दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङले उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गरेका छन् । कम्पनीले उपत्यकाको थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान बिक्री गरिरहेको छ । उपत्यकाबाहिर ४३ जिल्लाबाट सुपथ मूल्य पसल सञ्चालन गर्नुका साथै कम्पनीले अनलाइन अडरमार्फत होम डेलिभरीको व्यवस्था गरेको छ । कम्पनीले चामल र दाल प्रतिकेजीमा पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै तेल गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी र क्वाटी प्रतिकेजीमा सात रुपियाँ छुटको व्यवस्था गरेको छ । जिउँदो, खसीबोका र च्याङ्ग्रा र डिडिसी घिउमा प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । अन्य निजी कम्पनीले पनि चाडपर्वलक्षित सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन् ।
नेपाल राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएकोमा यस वर्ष सुकिला नोट वितरण गरेको छ । विगतका वर्षहरूमा दसैँ, तिहार र छठका लागि राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले राष्ट्र बैङ्कले सुकिला नोट वितरण गरेको हो । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि व्यवस्थापन वितरण गरिएको बैङ्कले जनाएको छ ।
फस्टाउँदै अनलाइन व्यापार
प्रविधिको विस्तारसँगै पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको थियो । त्यसपछि क्रमिक रूपमा अनलाइन व्यापार फस्टाउँदै गएको छ । उपभोक्ताले अनलाइनबाट सामान अडर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । दराज, फुडमान्डु, सस्तो डिजललगायतका अनलाइनबाट व्यापार बढ्दै गएको छ । टिकटकमार्फत सामान देखाएर पनि ग्राहकको अडर अनुसार सामान बिक्री गर्ने गरेका छन् ।
अर्थतन्त्र चलायमान कम
डा. चन्द्रमणि अधिकारी
अर्थविद्
दसैँसहित चाडपर्वले अर्थतन्त्रमा प्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । यसले अर्थतन्त्रमा प्रभाव पारेको हुन्छ तर पहिला र अहिले फरक ढङ्गको छ । पहिला केरा, चिउरा, चामल, जमरा, कपडा, मासु, तरकारी, मसला आन्तरिक उत्पादन हुने हुँदा अर्थतन्त्रलाई चलायमान बनाउने गरेको थियो । आर्थिक वृद्धिमा टेवा पुग्ने गरेको थियो तर हाल यसको चरित्र बदलिएर फरक भएको छ । यसको प्रभाव बाह्य पक्षमा बढी छ । खसीबोका केही आन्तरिक उत्पादनमा भए पनि दसैँमा उपभोग गर्ने अधिकांश सामान आयातित हुने गरेका छन् । अहिले दसैँमा गाडी, मोबाइल, ल्यापटप किन्ने प्रचलन भएकाले यसले अन्तर्राष्ट्रिय व्यापार बढाउने काम भएको छ । यसपालि दसैँमा अर्थतन्त्र चलायमान कम देखिन्छ ।
बाढीपहिरोका कारणले कृषि क्षेत्रमा ठुलो असर पारेको छ जसको कारणले गर्दा पनि समग्र अर्थतन्त्रमा प्रभाव पार्ने देखिन्छ । विगतका वर्षका चाडपर्व जस्तो अहिले मानिसको आवतजावत कम हुने देखिन्छ । सडकमार्गबाट हिँड्न जोखिम छ । अर्थतन्त्र चलाउने मध्यम युवा वर्गले हो । मध्यम वर्गका युवा धेरै बाहिर गएकाले आन्तरिक बजारमा माग कम हुने र उत्पादन गर्ने जनशक्ति क्षमता पनि कम हुँदै गएको छ । यसको कारणले गर्दा पनि अर्थतन्त्रमा हुनुपर्ने उत्पादन, व्यापार व्यवसाय, यातायातमा कम हुने अनुमान गर्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको साउन महिनामा मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ तर बजारमा अधिकांश वस्तुको मूल्य बढेको देखिन्छ । बजारमा तरकारी, फलफूल, खाद्यान्नलगायतको मूल्य बढेको छ । विद्युतीय गाडी, ल्यापटपको मूल्य घटको छ । क्रयशक्ति आम्दानी नबढेका डलरको मूल्य बढ्दा खरिदमा असर परेको छ ।