• १५ असार २०८१, शनिबार

अपाङ्गता भएकालाई सास्ती

blog

 काठमाडौँ/नेपालगञ्ज, वैशाख ३१  गते । अपाङ्गता भएका व्यक्तिले मतदान गर्ने क्रममा निकै सास्ती खेप्नु परेको छ । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि सहज व्यवस्थापन गर्न परिपत्र जारी गरे पनि त्यसको व्यावहारिक प्रयोग भने हुन सकेको देखिएन । 

मताधिकार प्रयोग गर्न सहज व्यवस्था नहुँदा धेरै अपाङ्गता भएका व्यक्तिहरूले दुःख पाएका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित आदर्श मावि राँझा मतदान केन्द्रमा सुरक्षाकर्मीको लापरबाहीले अपाङ्गता भएका व्यक्तिहरूले घिस्रिएर गएर मतदान गरे । मतदान केन्द्रको ठूलो ढोका बन्द गरेर साँघुरो ढोका खोली ह्विल चेयर भित्र लैजान नदिइएपछि अपाङ्गता भएका व्यक्तिले कष्टसाथ मतदान गर्नु परेको थियो । 

नयाँ बस्तीबाट ह्विल चेयरमा मतदान गर्न आउनुुभएका फागुराम चौधरीलाई सुरक्षाकर्मीले गेटबाट भित्र ह्विलचियर लैजान नदिँदा घिस्रिएर गई मतदान गर्नु परेको थियो । उहाँले भन्नुुभयो, “पुलिसले  ह्विलचियर भित्र छिराउनै दिएनन् । भित्र पनि अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै व्यवस्था थिएन । घिस्रिएर गएर मतदान गरेँ ।” 

अपाङ्गता भएका अर्का मतदाता कलसा विकले आफूहरूमाथि अमानवीय व्यवहार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ह्विल चेयर भित्र लैजानै दिएनन् । मलाई नातेदारले बोकेर लगी भोट हाल्न सघाए ।”  

सुरक्षामा खटिएका कर्मचारी र प्रहरीले आफूूहरूसँग राम्रो व्यवहार नगरेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । यसबारे उक्त मतदान केन्द्रका मतदान अधिकृत भावना सापकोटासँग जानकारी माग्दा उहाँले सुरक्षाकर्मीको लापरबाहीले यस्तो हुन गएको र सो कुरा आफूले थाहा पाउनेबित्तिकै सुधार गरेको दाबी गर्नुुभयो ।मुुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सो घटनाको अनुसन्धान गरिने जानकारी दिनुुभयो । 

अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह समान आधारमा भयमुक्त वातावरणमा निर्वाचनमा उम्मेदवार हुने र स्वैच्छिक रूपमा कसैको सहयोग लिई वा नलिई मतदान गर्ने अधिकार हुने व्यवस्था छ । 

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई मतदानको प्रक्रिया, सुविधा र सामग्रीलाई पहुँचयुक्त तथा बुझ्न र प्रयोग गर्नसक्ने गरी उपयुक्त व्यवस्था मिलाउने व्यवस्था पनि ऐनमा छ । अपाङ्गता भएका पत्रकार गजेन्द्र बुढाथोकीले निर्वाचनका क्रममा भएको व्यवस्थापन संविधान र मुलुकी ऐन र प्रचलित कानुनविपरीत भएको बताउनुभयो । 

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले धेरैपहिला नै निर्वाचन आयोगलाई यस विषयमा अनुरोध गरिए पनि व्यवस्थापन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । अपाङ्गता भएकी सञ्चारकर्मी सरू विश्वकर्माले निर्वाचनमा सहज व्यवस्था हुने भन्ने कुरा पहिले आएको भए पनि अहिले अपाङ्गता भएका व्यक्तिले मतदानका क्रममा दुःख पाएको बताउनुभयो ।


Author

सविता शर्मा/सिराज खान