• २० असोज २०८१, आइतबार

माओवादी केन्द्रको ध्यानाकर्षण

विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली ध्यानाकर्षणपत्र बुझाउँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज २० गते  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्यानाकर्षण गराएको हो ।

नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिनुभयो । सो दलले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विपद्को न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताउनुभयो । 

सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।