• १९ असोज २०८१, शनिबार

विगतको भन्दा सकारात्मक उपलब्धि हासिल हुने दाबी

blog

पत्रकार सम्मेलनमा मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, असोज १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको भन्दा अहिले नीति निर्माण तय गरेपछि बनाइएका योजनाको गति बढ्दा सकारात्मक परिणाम आउनेमा ढुक्क भएको बताउनुभएको छ । उहाँले आफूले नीति निर्माणको कामलाई गति दिएको हुँदा विगतको तुलनामा यस पटक सकारात्मक परिणाम आउने दाबी उहाँले गर्नुभयो । 

शुक्रबारको पत्रकार भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार मन्त्रालयले यही असोज महिनाको दोस्रो सातासम्म ५० प्रतिशत टेन्डर आह्वान गरिसकेकाले यसबाट सुखद परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । अहिले आफूले नीति निर्माणको कामलाई प्राथमिकता दिइरहेको हुँदा काम गर्न सहज भएको र विगतका तुलनामा सुधार आउने दाबी उहाँले गर्नुभयो । उहाँले अहिले प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्न ५० करोड रुपियाँ बजेट विनियोजन गरेको र त्यसको खर्च गर्ने कार्यविधि पनि बनाइसकेकाले अब काम गर्न सहज हुने बताउनुभयो । 

यसै गरी प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको विस्तार, स्तरवृद्धिलगायत विविध पक्षका बारेमा अध्ययन गर्नका लागि डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी सम्मिलित अध्ययन समिति गठन गरिएको छ । यो समितिले प्रदेश अस्पतालको समग्र विकासका बारेमा अध्ययन तयार पारी प्रदेश सरकारलाई दिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । 

प्रदेश सरकारका मन्त्रालय एकै ठाउँमा रहने एकीकृत प्रशासन भवन निर्माणको योजनालाई प्रदेश सरकारले प्रदेश गौरवको योजना घोषणा गरेको उहाँको भनाइ छ । मुख्यमन्त्री कँडेलले आगामी मङ्सिर महिनामा कर्णालीको सुर्खेतमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका आन्तरिक तयारी पूरा गर्न प्रदेश सरकार लागे पनि सङ्घीय सरकारको योजना भएकाले त्यसको मुख्य जिम्मेवार सङ्घीय सरकार भएको बताउनुभयो । प्रदेश सरकारको काममा गति दिन कर्मचारी सरुवा गरेको हुँदा यसमा सरकारले सुधारात्मक काम गरेको दाबी उहाँको छ । सुर्खेत विमानस्थल विस्तारको काम सङ्घीय सरकारको भएकाले यसमा प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । 

विगतमा सरकारमा गएका राजनीतिक दलसँगको सहयात्रा बदलिए पनि विगतका सरकारले बनाएका योजना परिवर्तन नभएको भन्दै उहाँले पारित भएका योजनालाई प्रदेश सरकारले नियमित रूपमा काम गरेको जानकारी दिनुभयो । कर्णाली प्रदेशको आन्तरिक राजस्व कम भएको हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजस्व शाखा स्थापना गरी आन्तरिक राजस्व बढाउने योजना कार्यान्वयन गरिने उहाँले जनाउनुभयो । 

सुर्खेतको रिङरोड निर्माण, प्रदेश राजधानीलाई डुबानबाट जोगाउने योजना तयार गर्ने, सुर्खेत–कोहलपुर १३२ केभिए विद्युत् प्रसारण लाइन, खम्बागाडे सडकलगायतका प्रदेश राजधानीको विकासमा महत्व राख्ने योजनालाई प्रदेश सरकारले प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।