• १९ असोज २०८१, शनिबार

सीमानाकाका चौबिस स्थानमा प्रहरी जाँच

blog

सुरक्षा योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता

भैरहवा, असोज १९ गते । चाडपर्वलाई सुरक्षित बनाउन रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा गस्ती र सुरक्षा जाँच थालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै गस्ती र ‘चेकिङ’ मार्फत आपराधिक गतिविधि नियन्त्रणका लागि प्रयास थालिएको जनाएको छ । कार्यालयले बिहीबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी दसैँ, तिहार तथा छठपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

यो अवधिभरिमा जिल्लाभर एक हजार जना प्रहरी कर्मचारी खटिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले बताउनुभयो । प्रहरी उपरीक्षक राठौरका अनुसार पिकेट ४३ स्थानमा, ट्राफिक प्रहरीसमेत रहने गरी मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) चेक प्वाइन्ट ११ स्थानमा रहने छ । 

त्यस्तै मोबाइल गस्ती १७ वटा, क्विक रेस्पोन्स टिम –क्युआरटी) मोटरसाइकल/साइकल गस्ती ४९ वटा, पैदल गस्ती १८ वटा, बेलहिया, बुटवल, भैरहवा बसपार्क, लुम्बिनी र कालीदहमा ट्राफिक प्रहरीसमेत रहने गरी यात्रु सहायता कक्ष र सीमानाकामा तस्करी नियन्त्रणका लागि २४ स्थानमा चेकिङ हुने छ ।

त्यस्तै यो अवधिमा चोरीलगायत अन्य अपराधसम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने, सचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, माइकिङ गर्ने, आर्थिक कारोबार हुने स्थानमा प्रहरीको उपस्थिति बढाउने, भारतीय सीमानाकाका साथै अन्य स्थानमा पनि कुकुर परिचालन गरी चेकजाँच गर्ने योजनामा समावेश छ ।

“सीमानाका तथा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार ड्रोन क्यामराद्वारा निगरानी गरिने छ,” प्रहरी उपरीक्षक राठौरले भन्नुभयो, “सार्वजिक सवारीसाधनमा सादा पोसाकमा प्रहरी परिचालन गरिने छ ।”

चाडपर्वमा चोरी, पाकेटमारी, ठगी, कुटपिट, झैझगडा, जुवातास, सवारी भाडा वृद्धि, सवारी दुर्घटना, ध्वनि प्रदूषण, कालोबजारी, खाद्यपदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार, घरेलु मदिराको प्रयोग, सार्वजनिक यातायातमा महिला हिंसा तथा दुव्र्यवहार, तस्कारी, अवैध चोरी, निकासी, पैठारी, साइबर अपराध, विपत्जन्य घटना हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले बताउनुभयो ।