मदन लामा (४३ वर्ष)
बेथानचोक गाउँपालिका–४ पाटीखर्क
हामी गाउँका मान्छे, एउटा घर होस्, खेतबारी होस् । गाउँमै काम गरेर खान पाइयोस् । कमाउनलाई देश–परदेश जान पाइयोस्, यति नै हुन्छ हाम्रो सपना भनेको । तर दसैँको मुखमै हाम्रो सपना बाढीले बगायो । एकै झट्कामा सबै घर र सम्पत्ति र हाम्रो जीवनभरि मेहनतको जायजेथा बगरमा पुरियो ।
हुन त ‘दशा बाजा बजाएर आउँदैन’ भन्छन् । हामीलाई त्यस्तै आइलाग्यो । बिहीबारदेखि नै झरी परिरहेको थियो । झरी पर्ने क्रममा शुक्रबार दिउँसो माथि गाउँमा रहेको भूकम्पप्रतिरोधी घरमा क्षति भएको थियो । छिमेकीको आँगनबाट आएको पहिरोले गाउँमा रहेको कच्ची गोठमा क्षति पुग्यो । पानी पर्ने क्रम शनिबार पनि जारी थियो । बाहिर पानी परिरहेकाले साँझ खाना खाएर घरका सबै सदस्य सुतिसकेका थियौँ । खाना खाएर निद्रामा परेको बेलामा बाहिर होहल्ला सुरु भयो । बाढी आयो, बाहिर निस्कौँ भनेर छिमेकी पसल तथा गाउँका दाजुभाइले बोलाउँदै थिए । अहिलेसम्म ठुलो बाढी आएको छैन, बाढीले कुनै असर गरेको छैन केही हुन्न भनेर उनीहरूको कुराको कुनै वास्ता नै नगरी आधा घण्टा सुतेँ । छिमेकीले बोलाउँदा रातको साढे ११ बजेको थियो । खोला जोडले कराउन थालेपछि हतपत उठेर झ्यालबाट बाहिर हेर्दा माथिबाट बाढीले एउटा घर पेलेर ल्याइरहेको देखेँ ।
त्यसपछि घरबाट ओर्लेर हेर्दा कारखानाका दराज पूरै उचालिएको थियो । हतपत दौडिँदै गएर आमा, छोराछोरी सुतेको कोठाको ढोका ढक्ढक्याएर आमाहरूलाई घरबाट निकालेँ । ज्यान जोगाउन भाग्ने क्रममा सलाम्दु खोलाको बाढीका कारण फर्निचर कारखानामा फिनिसिङ गरेर राखिएका दुई वटा दराज जुध्दा सिसा फुटेर भुइँभरि छरिएको रहेछ । सिसा फुटेको केही देखिएन, फुटेको सिसाले खुट्टा काट्यो ।
घरबाट भाग्ने क्रममा खुट्टा काटेपछि बाहिर निस्कँदा एउटाको चप्पल भेट्टाएर लगाएँ । त्यही पनि लगाएर बारीको कान्लो ओर्लिंदा चुँडियो । चुँडिएकै चप्पल लगाएर पनौती, बनेपासम्म चार दिनसम्म कोठा खोज्न हिँडे । आमा, छोराछोरी र आफू जोगिनका लागि गाउँका दाइहरूलगायत थुप्रै मानिस घरभन्दा माथि बस्नुभएको थियो ।
हामी पनि त्यही गएर रातभरि झरीमा रुझेर बस्यौँ । बिहान तल आएर हेर्दा बाढीले हाम्रो केही बाँकी राखेनछ । बाढीले सबै बगाएपछि मसँग मैले लगाएको लुगाबाहेक अन्य केही थिएन ।
झरीमा रुझेर गनाएको कपडा लगाएर छ दिनसम्म कटाएँ । एक्कासि आएको बाढीका कारण हामी बसोबास गर्ने घर, त्यही घरमा राखिएको कस्मेटिक्स पसल र दसैँका लागि राखिएको करिब एक लाख जतिको सामान, ३० हजारको मोबाइलको रिचार्ज कार्ड, पसलमा रहेको सिलाइका चार वटा मेसिन, यही २० गते दिनका लागि तयार गरिएको दराज, पलङलगायतका ६० थान फर्निचर, व्यापार गरेको पैसा, फर्निचरका लागि ल्याएको प्लाईलगायत सबै खोलाले बगायो ।
सियोसम्म निकाल्न सकिनँ
यताको दैनिकी ठिकै थियो । खाडी मुलुक जानका लागि उमेर नदिने रहेछ, खाडी जान नमिल्ने देखेपछि दसैँ मानेर यहाँ भएको फर्निचर पसल बन्द गरेर युरोप (रोमानिया) जाने सोच बनाएको थिएँ । दसैँलगत्तै विदेश जानका लागि साथीहरूले पैसा नदेलान् भनेर उनीहरूलाई मेरो भिसा आइसक्यो, म उता गएपछि राम्रो भयो भने तिमीहरूलाई पनि बोलाउँछु भनेर साथीसँग सात लाख सापटी लिएको थिएँ । बाढीका कारण साथीहरूसँग लिएको रकम पनि बाढीले बगाएर लग्यो । बाढीले गर्दा घरमा भएको पैसा, नागरिकता, लाइसेन्स, सियोसम्म निकाल्न दिएन ।
आमाको गहना, घरमा भएको भैँसी बेचेको पैसा र फर्निचर उद्योग सञ्चालन गर्नुअघि जागिर खाएको रकमबाट जम्मा भएको साढे दुई लाख रुपियाँको लागतमा १५ वर्षअघि गाउँमै फर्निचर उद्योग खोलेर व्यवसाय सञ्चालन गर्दै आएको थिएँ । शनिबार राति आएको बाढीले सबै गरेर मेरो झन्डै दुई करोडको हाराहारीमा क्षति पुर्याई मलाई बर्बाद नै बनाइदियो ।
यी सबै कुरा सम्झँदा भक्कानो फुटेर आउँछ, मन सम्हाल्न गाह्रो हुन्छ । शनिबार राति सलाम्दु खोलामा आएको बाढीले मेरो १५ वर्षको कमाइ स्वाहा बनाई खोलै खोला बगायो ।
बाढीका कारण अहिले मलगायत घरबारविहीन भएका मेरा छिमेकी, दाजुभाइहरूलाई धेरै ठुलो समस्या छ, म सरकारलाई के भन्छु भने कुनै सुरक्षित स्थान हेरेर अहिले केही गर्न नसकिए पनि एउटा पाल मात्रै राखेर, हामी (समस्या भएका) लाई खाद्यान्न, लत्ताकपडा दिनुभए धेरै खुसी हुन्थ्यौँ ।
बाढीले केही निकाल्न पाएनौँ सबै स्वाहा भएको छ । न त गोजीमा केही छ । खान मात्रै पाए पनि कति राम्रो हुन्थ्यो ।
बाढी आएपछि केही दिन यतै छिमेकीकोमा बस्यौँ, अहिले पनौतीमा कोठा खोजेर आमा, छोराछोरीलाई राखेको छु । जेठीसासूले चप्पल, लुगाहरू, मोबाइल, श्रीमतीकी भाउजूले चामल, तेल, मसला ल्याइदिनुभयो, मेरी दिदीले ओढ्ने ओछ्याउने ल्याइदिनुभयो । यतिले पनि मलाई धेरै खुसी बनाएको छ । यस्तो विपत्का बेलामा मेरा आफन्तले जति सहयोग गर्नुभयो, त्यो मेरा लागि धेरै ठुलो खुसीको कुरा हो ।
बाढीले यहाँ (पाटीखर्क) मा रहेको घर, पसल, फर्निचर कारखानासहित मेरो सारा सम्पत्ति लग्यो । माथि गाउँमा भएको घर पनि क्षति भयो । न यहाँ बस्ने अवस्था छ, न माथि घरमा गएर बस्ने अवस्था छ । जग्गा पनि छ तर कामै नलाग्ने भएको छ । कहाँ बस्ने केही सोच्न सकेको छैन । हामीसँग अहिले न खानेकुरा छ न लगाउने लुगा नै छ । हाम्रो यस्तो अवस्थामा स्थानीय सरकार तथा सम्बन्धित निकायले खाना, लत्ताकपडा व्यवस्था गरिदिए हुन्थ्यो । सरकारले खाद्यान्न र बस्नका लागि सुरक्षित स्थानमा लगेर पाल मात्रै हालेर भए पनि दसैँसम्म व्यवस्था गरिदिए हामी खुसी हुने थियौँ । सलाम्दु खोलाले म मात्रै होइन, यो पाटीचौरमा रहेका एक दर्जनभन्दा बढी घरपरिवारलाई घरबारविहीन बनाइदियो ।
प्रस्तुति : केदार तिमिल्सिना/बनेपा समाचारदाता