• १९ असोज २०८१, शनिबार

सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

blog

तस्बिर : रासस असोज १२ गतेको बाढीले बेलिब्रिज बगाएपछि मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमा हेवा खोलामा आवतजावतका लागि फड्के निर्माण गर्दै सुरक्षाकर्मी ।

काठमाडौँ, असोज १७ गते । बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् । 

चाडपर्वको समयमा अवरुद्ध सडक मर्मत गरी यातायात सञ्चालनका लागि सहकार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबिच बुधबार छलफलमा भएको छ । भौतिकमन्त्री दाहालको सचिवालयका अनुसार जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ । बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबिच छलफल भएको हो ।

विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार हालसम्म क्षतिग्रस्त भएका सडक र पुलको मर्मत सम्भार गरी यातायात सञ्चालनका लागि सडक विभागले नै काम गरिरहेको छ । क्षतिग्रस्त स्थानमा प्राविधिक तथा उपकरण परिचालन गरी सवारी आवागमन सहज बनाउने काम भइरहेको छ । बाढीपहिरोले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ ।

त्यहाँ तत्काल बेलिब्रिज निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिनेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रक्षा मन्त्रालयमा सिफारिस भएको रामेछापका बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले जानकारी दिनुभएको छ । 

रामेछापको मेरुदण्डका रूपमा रहेको खुर्कोट–मन्थली जोड्ने पक्की पुल बाढीले बगाएको भागमा बेलिब्रिज निर्माण गर्नेबारेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसँग आवश्यक छलफलपछि नेपाली सेनामार्फत काम गर्ने गरी रक्षा मन्त्रालयमा सिफारिस भएको हो । 

दुईतर्फी सञ्चालन

यसैबिच अवरुद्ध सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयासले नतिजा दिन लागेको छ । काठमाडौँ उपत्यकाको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक अर्जुन अर्यालले सङ्घीय राजधानी जोड्ने विभिन्न सडक र राजमार्गमध्ये त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको र बिपी राजमार्ग, अरनिको राजमार्ग र कान्ति लोकपथ खुलाउन भरपुर प्रयास भइरहेको जानकारी दिनुभयो । त्यसै गरी अरनिको राजमार्गको कुल ११२ मध्ये १०८ किलोमिटर सञ्चालनमा आइसकेको छ ।

काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने बिपी राजमार्गमा भएको ठुलो क्षतिका कारण दसैँकै बिचमा खुलाउन चुनौतीपूर्ण रहेको छ । अर्यालका अनुसार काठमाडौँदेखि बर्दीबाससम्म यस राजमार्गमा करिब बिस किलोमिटर दुरीमा समस्या छ । उहाँले भन्नुभयो, “यो राजमार्ग खुलाउन विभिन्न विकल्पमा छलफल भइरहेको छ तर कुन विकल्पमा जाने भन्ने अहिलेसम्म निक्र्यौलमा पुग्न सकिएको छैन । पूरा सडक बगाएका कारण रोसी खोलाबाट उपकरण तथा गाडी लानुको विकल्प छैन तर खोलामा पानीको बहाव कम भएको छैन । सम्भव भएसम्म हाम्रा प्राविधिक र मेसिनले काम गरिहेका छन् । यस राजमार्गको काठमाडौँदेखि बर्दीबासको बिचमा ३० किलोमिटरसम्म समस्या देखिएको छ ।”

उहाँका अनुसार कान्ति लोकपथ सञ्चालनमा ल्याउन पहिरो पन्छाउने, भासिएका सडक खण्ड मर्मत तथा ट्र्याक खोल्ने काम भइरहेको छ । 

ललितपुर र मकवानपुर जोड्ने बागमती पुलदेखि ललितपुरतर्फ आउने खण्ड अवरुद्ध छ । अरनिको राजमार्गको सञ्चालनमा आउन नसकेको चार किलोमिटरमा पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरेर तत्काल तातोपानीसम्म सडक सञ्चालनको प्रयास भइरहेको छ । यस खण्डमा तीन वटा पुल बगाएको छ ।

पहिरो पन्छाउन सुरु

उहाँका अनुसार बाढीपहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–उदयपुरको घुर्मी खण्डमा पहिरो पन्छाउन सुरु गरिएको छ । यस खण्डको कुल लम्बाइ ६१ किलोमिटर छ । सङ्घीय सरकार, स्थानीय सरकार र सडक आयोजनाको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ । 

गोलन्जोर गाउँपालिका अन्तर्गत हैबारको अक्करे भिर, हैबारबेँसी, बलेनी, मुर्कीबँेसी, कुखुरेटार, कालीआँप र कुँडुले, फिक्कल गाउँपालिका अन्तर्गत सुम्नामबेँसी, नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाटलगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध छ ।

स्थलगत निरीक्षण

यसैबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको प्राविधिक टोलीले बुधबार बिपी राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणबाट फर्किनुभएका सचिव पोखरेलले बाढीपहिरोबाट बिपी राजमार्गमा सोचे र सुनेभन्दा बढी क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस राजमार्गमा धेरै क्षति पुगेको छ । १०/१२ किलोमिटर सडक पूर्ण रूपमा ‘वास आउट’ नै भएको छ । त्यसले गर्दा तत्काल त्यो राजमार्ग खोल्न गाह्रो छ ।”