• १५ असोज २०८१, मङ्गलबार

सडक खुलाउने कार्य तीव्र

blog

काठमाडौँ, असोज १५ गते । वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक विभागले जनाएको छ । 

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले अवरुद्ध राजमार्ग र सडक सञ्चालन गर्न स्थानीय जनता, निकाय, सुरक्षाकर्मीको सहयोग र समन्वयमा तीव्र गतिमा काम भइरहेको बताउँदै मुलुकको अन्य भागसँग सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने मुख्य राजमार्गमध्ये त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई मर्मतसम्भार गरी सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

उपमहानिर्देशक अर्यालका अनुसार नागढुङ्गा–मुग्लिङ सडक अन्तर्गत घोप्टेभिर, जलबिरे, मौवा खोला, हुक्दी खोला, फिस्लिङ, काली खोला, सिमलताल खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आइसकेको छ भने नागढुङ्गा–मुग्लिङ खण्डको झ्याप्ले खोला र जवाङ खोला खण्डमा एकतर्फी मात्र सडक सञ्चालनमा आउन सकेको छ । दुईतर्फी खुलाउन प्रयास भइरहेको छ । 

त्यसै गरी सङ्घीय राजधानी जोड्ने अर्को मुख्य राजमार्ग कान्ति लोकपथलाई मङ्गलबार बेलुकासम्ममा काठमाडौँ र हेटौँडातर्फबाट बागमती नदीसम्मको खण्ड सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “बागमती नदीको पुलको पहुँच (एप्रोच) नै तीन सय मिटर बगाएको छ । त्यहाँ तत्काल बनाउन गाह्रो छ ।” कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबास र मकवानपुरको महादेवटार खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँलाई मुलुकको पूर्वी तराई भूभागसँग जोड्ने बिपी राजमार्गको काठमाडौँदेखि भकुन्डेबेँसी र बर्दीबासदेखि नेपालथोकसम्मको बाटो खुला भइसकेको छ । नेपालथोकदेखि भकुन्डेबेँसीसम्म चार ठाउँमा गरी करिब तीन किलोमिटर पूरा बाटो नै बगाएको छ । त्यो ठाउँमा रोसीको पानी घटेको छैन । खुर्कोटको पुल पनि बगाएकाले थप समस्या उत्पन्न भएको छ ।”

राजधानीलाई उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने अरनिको राजमार्गको काठमाडौँतर्फबाट १०८ किलोमिटर (सुक्खा बन्दरगाह) सम्मको सडक सञ्चालनमा ल्याई त्यहाँ रोकिएका कन्टेनर काठमाडौँ ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । यस खण्डमा तीन वटा पुल बगेका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी, दकलाङ खण्ड एकतर्फी सञ्चालनमा छ ।

उपमहानिर्देशक अर्यालका अनुसार हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ सडकको भैँसे खण्ड पनि दुईतर्फी सञ्चालनमा आइसकेको छ । त्यसै गरी सामाखुसी–टोखा–गुर्जे–विदुर सडक दुवैतर्फ र काठमाडौँ–नुवाकोट जोड्ने बालाजु–त्रिशूली सडकखण्डको ओखरपौवा खण्ड एकतर्फी सञ्चालनमा आएको हो । राजधानीको उत्तरतर्फ रसुवागढीसम्म सडक सञ्चालनमा आइसकेको छ । चरीकोट र जिरीसम्मको सडक खुला भइसकेको छ ।  

मन्थलीसम्म पुग्ने सडकको किर्नेटार भन्ने ठाउँमा अवरुद्ध छ । त्यहाँ खुला गर्न एक/दुई दिन लाग्न सक्ने उहाँको भनाइ छ ।

त्यसै गरी उदयपुर हुँदै खोटाङ जाने फोक्सिङटारको पुल बगाएकाले त्यतातिरको सम्बन्धविच्छेद भएको उहाँले जानकारी दिनुभयो । त्यसै गरी मध्यपहाडीको सिन्धुली–उदयपुर–ओखलढुङ्गा र खोटाङका दर्जनभन्दा बढी स्थानमा पहिरोले यातायात अवरुद्ध भएका छन् । मध्यपहाडीकै खुर्कोटदेखि घुर्मीसम्मको खण्ड बुधबारसम्म सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । पूर्वमा मेची राजमार्गको दुई वटा पुल बगाएकाले केही समस्या उत्पन्न भए पनि मङ्गलबारसम्म फिदिमसम्म पुग्ने प्रयास गरिने उहाँको भनाइ छ । त्यहाँको हेवा खोलामा पानी कम भएको बेला खोला भएर नै सवारीसाधन ओहोरदोहोर गर्न सक्छ भने पानी बढेको बेला समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

यसैबिच धादिङको गजुरी–२, परेवा भिरस्थित सोमबार राति पृथ्वी राजमार्गमाथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । सुरक्षा निकाय पहिरो पन्छाउने कार्यमा खटिरहेको र राति नै पन्छाउन नसकिने अवस्था रहेको हुँदा सम्पूर्ण सवारी चालकहरूलाई आ–आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न प्रहरीले अनुरोध गरेको छ ।