• १२ असोज २०८१, शनिबार

सधैँ निगरानी

blog

जर्ज अर्वेलले सन् १९४९ मै ‘नाइन्टिन एटिफोर’ आख्यानमा भनेका थिए, “बिग ब्रदर इज वाचिङ यु” अर्थात् ठुल्दाइले तिमीलाई निगरानी गरिरहेको छ । अर्वेलको उपन्यासमा प्रस्तुत गरिएको ‘बिग ब्रदर’ को अवस्था अहिले सूचना प्रविधिका क्षेत्रमा देखिन थालेको त हैन ? साइबर स्पेसमा भइरहेको जासुसी र गोपनीयता भङ्गको वर्तमान अवस्थालाई लिएर कतिपयले भन्छन्, “जर्ज अर्वेलको त्यो आख्यानको रूपान्तरण अहिले वास्तविकता जस्तै बनेको छ ।” 

सन माइक्रोसिस्टम्सका सहसंस्थापक स्कट म्याकनेलीले समेत “इन्टरनेटमा तपाईंका केही पनि कुरा गोप्य छैनन् । त्यसलाई आत्मसात् गर्नुहोस्” भनेका थिए । यस भनाइले इन्टरनेट प्रयोगकर्ता र गोपनीयताको पक्षलाई स्पष्ट रूपमा इङ्गित गर्छ । उठेदेखि सुत्नुअघिसम्म इन्टरनेटको सम्पर्कमा छौँ । यसबिचमा धेरै विषयवस्तु इन्टरनेटमा ‘अपलोड’ र ‘सेयर’ गछौँ । व्यक्तिगत विषयवस्तु ‘च्याट’ मार्फत एकअर्कामा साटासाट गर्छौं । यसको अर्थ हो, हामी आफ्नो निगरानी स्वीकार गरिरहेका छौँ र गोपनीयता बाँडिरहेका छौँ । विज्ञका अनुसार वर्तमान विश्वमा सूचना प्रविधि एक प्रकारको सर्वसत्तावादी शासनको प्रतीक हो । जहाँ सूचना प्रविधिका कम्पनीले सबै नागरिकको गतिविधि र विचारलाई नियन्त्रित गर्छन् । यिनीहरूले प्रयोगकर्तालाई निरन्तर निगरानीमा राख्छन् । नागरिकको जीवनमा हस्तक्षेप गरेर उनीहरूले गोपनीयता र व्यक्तिगत स्वतन्त्रता खोस्छन् । 

साइबर स्पेसको वर्तमान अवस्थालाई ‘साइबर साम्राज्यवाद’ पनि भन्ने गरिएको पाइन्छ । साम्राज्यवाद यस अर्थमा कि यसको नियन्त्रण सीमित राष्ट्रसँग मात्र छ । सन् २०१३ मा ‘बिग ब्रदर’ सँगै ‘साइबर साम्राज्यवाद’ शब्दावली प्रयोगमा आएको हो । इन्टरनेटको प्रयोग जति बढ्दै गइरहेको छ त्यति नै गोपनीयताको समस्या गम्भीर रूपमा वृद्धि हुँदै गएका छन् । अनलाइन माध्यममा व्यक्तिगत ‘डाटा’ र जानकारीको सुरक्षाको सवाल निकै महत्वपूर्ण बनेको छ । हरेक दिन नयाँ गोपनीयता उल्लङ्घन र ह्याकरको आक्रमणले मानिसको विश्वासमा असर पार्न थालेको छ । यसैले इन्टरनेटको प्रयोग गर्दा सतर्क रहनु अत्यावश्यक छ । 

लेखेपछि कहिल्यै हट्दैन

इन्टरनेटमा एक पटक राखेका सामग्री हटाउन असम्भव जस्तै हुन्छ । प्रयोगकर्ताले आफ्ना अनलाइन क्रियाकलाप जस्तैः अनलाइन पोस्ट, मेसेज, कमेन्ट, सेयर र व्यक्तिगत विवरण चाहेको बेलामा हटाउन सक्छ । तथापि त्यो हटाइएको ‘कन्टेन्ट’ पूर्ण रूपमा चाहिँ हटेको हुँदैन । यस सन्दर्भमा सामाजिक सञ्जाल अनुसन्धाता एवं कोलम्बिया बिजनेस स्कुलकी प्राध्यापक मात्जको भनाइ मननीय छ । उहाँ भन्नुहुन्छ, “देख्दा कति सामान्य छ तर त्यहाँ तपाईं जे कुरा राख्नुहुन्छ । कहिल्यै नसोच्नु ती फेरि नितान्त निजी रहन्छन् । इन्टरनेटबाट केही कुरा झिक्न रिसेट बटन थिच्नु लगभग असम्भवप्रायः छ ।”

साइबर सुरक्षा अनुसन्धाता एवं टेक्सस एएन्डएम युनिभर्सिटीमा प्राध्यापक रवि सेनका अनुसार निश्चित अवस्थामा नियामक र अन्य समूहले स्रोत र पहुँचद्वारा टुल्स र विज्ञताको सहयोगले डिलिट गरिएका डाटा रिकभर गर्न सक्छन् । नेपाली उखान छ, ‘मुखबाट निस्केको बोली र बन्दुकबाट निस्केको गोली फेरि फर्र्किदैन ।’ तपाईं हामीले इन्टरनेटमा राखेका सामग्री हाम्रो नियन्त्रणबाट बाहिर पुगिसकेको हुन्छ । त्यो अरू कसैको नियन्त्रणमा पुग्छ । 

जासुसी जालो

इन्टरनेटले हरेक समय तपाईंलाई सिसिटिभी क्यामराले जस्तै निगरानी गरिरहेको छ । तपाईं हाम्रो रुचिलाई हामीभन्दा बढी अरू कसैलाई थाहा हुन्छ । त्यो इन्टरनेटकै माध्यमबाट सम्भव भएको  हो । तपाईं कोसँग भेट्नुभयो, के खानुभयो, तपाईंको रुचि/अरुचि के हो, कुन ठाउँमा जानुभयो, मन पर्ने कपडा, जुत्ता, खानालगायत जानकारी तपाईंभन्दा गुगल, फेसबुकलगायत सोसल साइटलाई थाहा हुन्छ । प्रयोगकर्ताको हरेक जानकारी गुगल, फेसबुक, ट्विटरलगायत वेबसाइटले लिइरहेका हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा यस्ता एप, साइट र सेवाले तपाईंमाथि जासुसी गरिरहेका हुन्छन् । 

यति भनिरहँदा गुगल जस्ता सेवाले प्रयोगकर्ताको क्रियाकलाप निगरानी (ट्र्याक) गरेर के फाइदा हुन्छ ? जवाफ सरल छ, गुगलले यसबाट राम्रो आम्दानी गर्छ । गुगल आफ्ना प्रयोगकर्ताको आवश्यकता अनुसारको विज्ञापन देखाउनमा यसको उपयोग गर्दछ । भनिन्छ नि 

‘इन्टरनेटमा कुनै पनि कुरा निःशुल्क छैन । तपाईंले प्रयोग गरेबापत यसको मूल्य चुकाउनु पर्छ ।’ हो, गुगलले प्रयोगकर्ताको जानकारी सङ्कलन गरेर त्यहीबापत विज्ञापनबाट उसले राम्रो आम्दानी गर्छ । यस कामबाट गुगलको आम्दानीको एउटा ठुलो हिस्सा हो । गुगलले मात्र होइन फेसबुक जस्ता सोसल मिडिया साइटले पनि प्रयोगकर्ताका जानकारी विज्ञापनमा प्रयोग गर्छन् ।  अर्कोतर्फ तपाईंको मोबाइलले समेत जासुसी गरिरहेको हुन सक्छ । मोबाइलको माइक्रोफोनले कुनै डाटा सङ्कलन गर्‍यो भने अचम्ममा नपर्नु होला । यसले तपाईंले बोलेको सबै कुरा रेकर्ड गरिरहेको हुन सक्ने साइबरविज्ञहरू बताउँछन् । 


प्रयोगकर्ताको डाटा सुरक्षा

गोपनीयता मामिलाका जानकारका अनुसार आफ्नो अनलाइन डाटा सुरक्षित गर्न प्रयोगकर्ताले ‘एन्ड टु एन्ड इनक्रिप्सन’ को सुविधा भएका एप चलाउन राम्रो मानिन्छ । प्रयोगकर्ताले आफ्नो ग्याजेटमा 

‘क्लाउड ब्याकअप सेटिङ’ व्यवस्थापन गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ । यसो गर्दा कसैले पनि नबुझ्ने (इन्क्रिप्टेड) भाषामा भएका सेवाबाट गोप्य डाटा जहाँसुकै पहुँचयोग्य नहुन सक्छ । यी सबै सतर्कता अपनाउँदासमेत प्रयोगकर्ताले एक पटक केही कुरा अनलाइनमा राखिसकेपछि त्यसमा उसले नियन्त्रण गुमाउने प्राध्यापक मात्जको धारणा छ । मात्जले फेसबुकबाट हामी नै डिलिट गर्छौं भने पनि कसैले त्यसअघि नै ती कुरा कपी गरिसकेको हुन सक्नेतर्फ सङ्केत गर्नुभएको छ ।

गोपनीयता चुहावट

पछिल्लो समय नेपालमा ‘डेटिङ एप’ को प्रयोग बढ्दो क्रममा रहेको छ । साथी सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा ‘डेटिङ एप’ युवामाझ चल्तीमा छ । यस्ता एपमा प्रयोगकर्ताका धेरै जसो व्यक्तिगत जानकारी सङ्ग्रहमा रहन्छ । प्रयोगकर्तालाई एकआपसमा भेट्न सजिलो बनाउन बिहे नेपाल, टिन्डर, बम्बललगायतका ‘डेटिङ एप’ मा प्रोफाइल बनाउँदा धेरै जसो व्यक्तिगत जानकारी राख्नुपर्ने हुन्छ । यसमा तपाईंले नाम, उमेर, फोन नम्बर, स्थान, विद्यालय, रुचि/अरुचि, तस्बिरलगायत जानकारी रहने गर्छ । 

मोबाइल वा कम्प्युटरमा एप डाउनलोड गर्दा त्यसका विभिन्न सेवा सर्त पालना गर्नुपर्ने हुन्छ । जुन कुरालाई हामीले गम्भीरतापूर्वक लिँदैनौ र बेवास्ता गर्छौं । कतिपय अनधिकृत एपसमेत हामीले डाउनलोड गर्ने गर्छौं । यसरी हामीले आफ्नो गोपनीयता सार्वजनिक गरिरहेका हुने छौँ । यस्ता एपमा प्रयोगकर्ताले जानकारी सेयर गर्दा सीमित प्रयोगकर्ताले मात्र देख्ने अनुमानसाथ व्यक्तिगत जानकारी सेयर गर्छन् तर तपाईले एक पटक यस्ता प्लेटफर्ममा व्यक्तिगत जानकारी राख्नु भनेको इन्टरनेटमा रहेका अन्य सामग्री सरह हुन्छन् ।  

सचेत प्रयोग

इन्टरनेटलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा पनि लिइन्छ । सोसल मिडियामा पहुँच स्थापित गर्नु अधिकारको विषयसमेत बनिसकेको छ । तथापि इन्टरनेटमा प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रतासँगै अर्को महत्वपूर्ण पक्ष गोपनीयता पनि हो । गोपनीयता व्यक्तिगत स्वयत्ततासँग सम्बन्धित रहन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको धारा १७ ले मानिसको गोपनीयताको अधिकार प्रत्याभूत गरेको छ । नेपालको संविधानको धारा २८ मा र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ मा यसबारे व्यवस्था छ ।

नेपालमा इन्टरनेटका सामग्रीमा अझै पूर्ण रूपले निगरानी गर्न सम्भव बनेको छैन । अधिकांश देशले नागरिकको हरेक क्रियाकलापमा नजर राखिरहेका हुन्छन् । अझ भनौँ अमेरिका, चीन, रुस, भारतलगायत देशले त तपाईं कहाँ जानुहुन्छ, कोसँग भेट्नुहुन्छ, के कुरा गर्नुहुन्छ, के खानुहुन्छ, के हेर्नुहुन्छ, हरेक कुरा निगरानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा व्यक्तिगत गोपनीयताको सुरक्षाका लागि ध्यान दिनु अन्यन्त जरुरी छ । कुन सूचना वा जानकारी इन्टरनेटमा राख्ने/के नराख्ने जस्ता कुराप्रति प्रयोगकर्ता समयमै सजग हुनु पर्छ । २१ औँ शताब्दीको डिजिटल युगमा व्यक्तिगत गोपनीयता र स्वतन्त्रता प्रभावित बनेको छ । अनलाइन संसारमा पूर्ण गोपनीयता सम्भव नहुन सक्छ । त्यसैले सुरक्षित र जिम्मेवारपूर्वक इन्टरनेट प्रयोगमा ध्यान दिनै पर्छ ।