• १८ साउन २०८२, आइतबार

छात्रवृत्ति दिन निजी विद्यालयको आनाकानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १८ गते । कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई पढाउन केही निजी विद्यालयले आनाकानी गरेका छन् । 

छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएर आफूले रोजेको विद्यालयमा भर्ना हुन जाँदा विद्यालय सञ्चालकले विभिन्न शीर्षकमा शुल्क माग्दै विद्यार्थीलाई मानसिक तनाव दिन थालेका छन् । प्रचलित कानुन अनुसार महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएर छनोट भएका विद्यार्थीलाई सम्बन्धित विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन पाउँदैन । 

तर यस्ता विद्यार्थीसँग परीक्षाका नाममा चर्को शुल्क लिने, महँगो मूल्यमा विद्यालयबाटै पोसाक किन्न लगाउने, अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै सोबापत शुल्क लिनेलगायतका गतिविधि विद्यालयले गर्न थालेपछि महानगरपालिकाले केही विद्यालयमाथि अनुगमन गर्दै कारबाही प्रक्रियासमेत अघि बढाएको छ । पछिल्लो समय वसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलले छात्रवृत्तिमा छनोट भएर भर्ना हुन गएका विद्यार्थीसँग विभिन्न बहाना बनाएर शुल्क मागेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका अनुसार उक्त स्कुलले छात्रवृत्तिमा छनोट भएका विद्यार्थीसँग परीक्षाका नाममा चर्को शुल्क उठाएको तथा विद्यार्थीलाई महँगो मूल्यमा पोसाकसमेत विद्यालयबाटै बेचेको थियो । अनुगमनक्रममा विद्यालयमा थुप्रै कैफियत देखिएपछि महानगरपालिकाले विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको विवरण, विद्यार्थीसँग लिने गरेको शुल्क विवरण, ११ र १२ मा पढाउने शिक्षक, कर्मचारीको नियुक्तिपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रलगायत विभिन्न २२ वटा शीर्षकसँग सम्बन्धित कागजपत्र मागेको छ । 

गत बिहीबार विद्यालय अनुगमन गर्न गएको महानगरपालिकाको टोली र स्कुल व्यवस्थापनबिच चर्को विवाद भएको थियो । महानगरपालिकाको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले छात्रवृत्तिमा छनोट भएका विद्यार्थीसँग मोर्गन स्कुलले चर्को शुल्क मागेकाले अनुगमन गरिएको बताउनुभयो । 

अनुगमनक्रममा स्कुलमा थुप्रै बदमासी देखिएको र तीन दिनभित्र आवश्यक कागजपत्र माग गरिएको उहाँले बताउनुभयो । कागजपत्र हेरेर थप कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिको जनाएको छ । 

महानगरपालिकामा छात्रवृत्तिको विषयलाई लिएर अन्य विद्यालयबाट पनि उजुरी आएको छ । उजुरी आएका विद्यालयमा पनि अनुगमन गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । जसमध्ये मेरिटका आधारमा करिब चार हजारले निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । महानगरपालिकाले प्राथमिकताका आधारमा तेस्रो पटक विद्यार्थीको सूची सार्वजनिक गरिसकेको छ । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले शैक्षिक सत्र २०८२/८३ का लागि महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् ।

शिक्षा नियमावली–२०६७ (आठौँ संशोधन) मा निजी तथा संस्थागत स्कुलले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको थियो । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ मा निजी लगानीका विद्यालयले पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १० प्रतिशत, पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।