लेखनाथ समाचारदाता
लेखनाथ, साउन १८ गते । देशकै ठुलो महानगर पोखरासँग अहिले ल्यान्डफिल साइट छैन । दैनिक दुई सय टन हाराहारी फोहोर निस्कने महानगरका लागि फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । अस्थायी ल्यान्डफिलआसपासका स्थानीयको अवरोधले फोहोरका गाडी बारम्बार रोकिन्छन् भने स्थायी ल्यान्डफिलका लागि जग्गाकै टुङ्गो छैन । यही समस्या कम गर्न र आयआर्जन गर्न सिकाउन पोखरामा आयोजित मेला शनिबार सकिएको छ ।
पोखरामा सञ्चालित प्रशोधन (रिसाइक्लिङ) र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत पहिलो पटक ‘आरयु फेस्ट’ भएको हो । पोखरा महानगरपालिकाको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा शुक्रबारबाट मेला सुरु भएको थियो ।
फोहोर व्यवस्थापन सँगसँगै आम्दानी गर्न सिकाउने मेला पोखरासहित देशकै हरित विकासका लागि नयाँ र उदाहरणीय बनेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । ‘आरयु फेस्ट’ विद्यार्थी, गृहिणीसहित १० हजारभन्दा बढीले अवलोकन गरे । मेलामा भेटिनुभएकी पोखरा–८ की बासिन्दा रमा गुरुङले फोहोर ठानेर फालिने वस्तुबाटै आम्दानी लिने उपाय सिकेको र देखेको सुनाउनुभयो ।
मेलाले नगरवासीमा वातावरणमैत्री र भावी पुस्ताको सुरक्षित भविष्य निर्माणमा सघाउने अपेक्षा गरिएको छ । “फेस्टिभलबाट नयाँ ज्ञान, सिप र मार्गदर्शन प्राप्त भएको छ,” नगरप्रमुख आचार्यले भन्नुभयो, “यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने अपेक्षा छ ।” प्रयोग नहुने सामग्री रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्र निर्माणमा यसले सघाउने उहाँको अपेक्षा छ । उहाँले भन्नुभयो, “यस परियोजनाले एकातिर युवालाई रोजगारीसँग जोड्ने छ भने अर्कातिर हरित अर्थतन्त्र विकासमा सघाउने छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले विकास साझेदारको सहयोगमा रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि अनेक प्रयास भइरहेको बताउनुभयो । उहाँले स्थानीय विकासलाई दिगो र परिणाममुखी बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । युएनडिपीका प्रतिनिधि जुलियन चेभिलार्डले रिसाइकल र अपसाइकलबाट आर्थिक सशक्तीकरणमा योगदान गर्ने अपेक्षा सुनाउनुभयो । महिला तथा सीमान्तकृत समुदायको जीविकोपार्जनलाई यसले टेवा दिने उहाँको भनाइ छ । कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङले पोखरामा सञ्चालित परियोजनाबाट रोजगारी सिर्जना प्रशस्तै हुने र चक्रीय अर्थतन्त्रमार्फत उद्यमशीलता र आयआर्जनमा वृद्धि हुने अपेक्षा गर्नुभयो । उहाँले पोखरामा सुविधासम्पन्न जलनसम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल निर्माणका लागि समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
मेलामा रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादन प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको ‘डेमो’ देखाइएको थियो । जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता, प्लास्टिक टु रोड प्रविधि, दक्षिण कोरियाको सफलता, हरित रोजगारी, बजार पहुँच, दिगो जीविकोपार्जनका उपायलगायत विषयमा छलफल भएका थिए । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ परियोजनामा कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लागतमा जिभिजेड सेन्टर बनिसकेको छ ।