• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय एआई नीतिको तयारी भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

blog

पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

काठमाडौँ, असोज ११ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनुभएको छ। शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘नेपालमा एआईको उपयोगमा विकास र प्रवर्द्धन गर्न एवं सो को प्रयोगमा गोपनीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको छ।’’

नेपाल डिजिटल प्रेमवर्कलाई प्रभावकारी बनाउने काम भइरहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने,  राष्ट्रिय साइबर सुरक्षा नीति २०८० निर्माण , साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धिसम्बन्धी अवधारणापत्र , प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनःसंरचना सम्पन्न  गर्ने काम भइरहेको छ।’’

सञ्चारमन्त्री गुरुङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताउनुभयो। उहाँले खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। 

 ‘‘नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० बर्षमा ३० खर्बको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने घोषणा गरेको छ’, उहाँले भन्नुभयो, ‘‘सो को कार्यान्वयन योजना निर्माण गर्ने क्रममा सरकार रहेको छ, ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिक्तामा राखेको छ।’’