• ११ असोज २०८१, शुक्रबार

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, असोज ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्नुहुँदै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताउनुभयो ।

उहाँले वैदिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतिमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गर्नुहुँदै त्यही बेलामा जलवायु परिवर्तनकाे असर पृथ्वीले भोग्नुपर्नेछ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नुपर्ने कुराको अनुमान गरेको उल्लेख गर्नुभयो ।

भागवान बुुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र सङ्घले पनि नेपालीहरु आफैं शान्ति कायम गर्न सक्षम छन् भन्नेर धन्यवाद दिँदै फर्किएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।”

उहाँले वैदिक कालमा वेदका ऋचाहरुले भने जस्तै शान्तिको परिचायक समृद्धि हुन सक्ने विकास हुन सक्ने र हामीेले भौतिक शान्तिसँगै मानसिक शान्ति आवश्यक रहेकाले पर्यटनलाई हाम्रो समृद्धिसँग जोडन सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्ने बताउनुभएको हो ।

विभिन्न समयमा नेपालीहरू आफैं आफ्नो शान्ति कायम गर्न सक्षम भएको दाबी गर्दै मन्त्री पाण्डेले भन्नुभयो हामीले हाम्रो देशलाई शान्तिको गन्तव्य बनाउन सक्नुपर्छ  ।

फरक प्रसंगमा मन्त्री पाण्डेले भन्नुभयो, अहिले हामीलाई चाहिएको समृद्धि हो, त्यसका लागि रणनीतिक रूपमा पर्यटनलाई प्रयोग गर्न सक्नुपर्छ । हाम्रो विविधता पूर्ण संस्कृति र प्रकृतिलाई संसारभर पुर्‍याउनु जरुरी छ । नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पुर्‍याउन जरुरी रहेको उहाँको भनाइ थियो ।

आफूले लिएको जिम्मेवारी सवैले पूरा गर्नुपर्ने बताउँदै काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जोसुकैले राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरेको बताउँदै यसलाई सबैले चिर्नुपर्ने उहाँको तर्क थियो ।

 निजी क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, लगानी गर्नेहरू माफिया होइनन् समृद्धिका वाहक हुन् ।

उहाँले नेपालको आकाश सुरक्षित छैन भन्ने भाष्यलाई चिर्नुपर्ने र नेपाली ध्वजावाहकलाई चुस्त बनाउनुपर्ने उल्लेख गर्दै पर्याप्त विमान विना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि उड्डयन क्षेत्रकाे. योगदान महत्त्वपूूर्ण रहेको उहाँको भनाइ थियो ।