• ११ असोज २०८१, शुक्रबार

जनतालाई उत्पादनसँग जोड्न सके समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकाेट, असोज १० गते । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ । 

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले सो कुरा बताउनुभएको हो ।

प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौँ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको थियो । आगामी दिनमा प्रदेश सरकारले दीर्घकालीन योजनामा मात्र बजेट विनियोजन गरिने बताउँदै मन्त्री काफ्लेले आवश्यकता हेरेर योजना निर्माण गरिने बताउनुभयो ।

स्थानीय सरकारले योजना छनोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उहाँको भनाइ छ। जिल्लामा नभएका प्रदेश सरकारका विभिन्न कार्यालयहरू जिल्लामा नै स्थापना गर्ने तयारी रहेको उहाँले बताउनुभयो । स्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्छ, उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना नहुने उहाँले बताउनुभयो ।

हामीले गरेको आन्दोलनबाट देशमा ठुलाठुला परिवर्तन भएको बताउँदै उहाँले देशमा केही नभएको जस्तो हल्ला गरिएको उहाँले बताउनुभयो । आन्दोलन गर्दैगर्दा राम्रा काम प्रचार हुन नसकेको बताउँदै काफ्लेले नराम्रो कामको बढी प्रचार हुने गरेको बताउनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका अर्थ सचिव कृष्ण प्रसाद मैनालीले प्रदेश सरकारको आन्तरिक आय बढाउने प्रमुख उद्देश्य रहेको बताउनुभयो । स्थानीय सरकारको दृष्टिकोण अन्य सरकारको जस्तो हुनुपर्ने बताउँदै मैनालीले ग्रामीण अर्थतन्त्र बलियो बनाए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, "स्थानीय तहको आयस्रोत धेरै रहेको छ, ढुङ्गागिटी मात्र नभएर कृषि क्षेत्र स्थानीय तहको आयस्रोत हो ।" 

आन्तरिक आय बढाउन स्थानीय तह र प्रदेश सरकार समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । प्राकृतिकको संरक्षण गरे मात्र राजस्व बढ्ने भएकाले स्थानीय सरकार बलियो बनाउन राजस्व दर बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रम दोलखाबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय तह र जिल्ला राजस्व बाडफाड र प्रदेश सरकारका विकास निर्माण र योजनाहरूको विषयमा जिज्ञासा राख्नुभएको थियो ।