• १९ असार २०८१, बुधबार

निर्वाचनको आवश्यक तयारी पूरा

blog

गण्डकी प्रदेश ब्युरो

पोखरा, वैशाख ३० गते । गण्डकी प्रदेशमा स्थानीय तह सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि हरेक मतदान स्थलमा किला गाड्ने, डोरी बाँध्ने, पुरुष–महिलालाई ध्यान दिँदै समूह छुट्याउने, डेस्क बेन्च राख्ने, मतदान गर्ने ठाउँ, छाप लगाउने ठाउँ यकिन गरी आवश्यक तयारी गरिएको छ । यस्तै वर्षालाई ध्यान दिँदै आवश्यक पाल राख्ने कार्य पनि कतिपय मतदान स्थलमा गरिएको छ । 

पोखरा समाचारदाताका अनुसार जिल्लाका एक सय ५० मतदान स्थल र तीन सय ३६ वटा मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । कर्मचारीले निर्वाचनका लागि तयार गरिएका ६४ प्रकारका निर्वाचन सामग्री आजदेखि प्रयोग गर्न सुरु गरिएको छ । मतदानको दिन मतपत्र निकाल्ने, सिल गर्ने, लाहाछाप लगाउनेलगायतका कार्य हुनेछन् । 

कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताले अब मताधिकार प्रयोग गर्न मात्र बाँकी रहेको बताउनुभयो । यसैगरी मतदान स्थलमा दुई दिनसम्म मतदाता शिक्षासमेत दिइएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता छन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार कर्मचारी परिचालित भएको बताउनुभयो ।  साथै प्रदेशका कुल एक हजार २५३ मतदान स्थलमा दुई हजार तीन सय मतदान केन्द्र तोकिएका छन् । गण्डकीमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७५९ वडा रहेका छन् ।

कास्कीमा पोखरा महानगरसहित  रूपा, माछापुच्छ«े, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको सङ्ख्या ७२ छ भने ७२ वडा र पाँच पालिका गरी ३७० जना जनप्रतिनिधि चुनिनेछन् । पोखरा महानगरपालिकाको प्रमुखमा २३ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएका छन् ।

म्याग्दी समाचारदाताका अनुसार म्याग्दी जिल्लामा सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीसहितको टोलीले निर्वाचनको आवश्यक सबै तयारी करिब पूरा गरेर मतदानका लागि तयारी अवस्थामा बसेका हुन् । 

जिल्लाका ७४ मतदान स्थलका ११४ मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले मतदाता परिचयपत्र वितरण, मतदानका लागि आवश्यक बुथ निर्माण गरिसकेका छन् । 

त्यस्तै सर्वदलीय तथा सर्वपक्षीय बैठक, मतदाता शिक्षा सञ्चालनलगायत निर्वाचनलाई आवश्यक पर्ने सबै तयारी पूरा गरेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । 

पानी पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर निर्वाचन आयोग तथा गृह मन्त्रालयको निर्देशनबमोजिम सबै मतदान स्थलमा त्रिपाल टाँग्ने काम पनि भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । 

मतदान स्थलमा घेराबारा लगाउने तथा जिल्लाको एक नगरपालिकासहिते छवटै स्थानीय तहको मतगणना स्थलमा आवश्यकताअनुसारको तारजाली लगाउने तथा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

निर्वाचनमा प्रयोग हुने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत करिब सय प्रकारका सामग्रीसहित मतदान स्थलतर्फ लागेका कर्मचारीको टोलीले आआफ्ना तोकिएको मतदान स्थललाई चुस्त बनाएका छन् । म्याग्दीमा निर्वाचन सम्पन्न गर्न कुल ५६१ कर्मचारी र सुरक्षाका लागि एक हजार ४४७ जनशक्ति परिचालन गरिएको छ । सुरक्षातर्फ ६१७ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २३४ नेपाली सेना र २१६ जना सशस्त्र प्रहरी जिल्लामा परिचालन भएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

छवटा स्थानीय तहका ४५ वटा वडा रहेको म्याग्दीमा पुरुष ४१ हजार ४१४, महिला ४३ हजार ९६० र अन्य एक गरी ८५ हजार ३७५ जना मतदाता छन् । जिल्लाभर कुल २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा छन् ।

कावासोती समाचारदाताका अनुसार निर्वाचनका लागि नवलपुरमा सम्पूर्ण तयारी पूरा भएको छ । पालिकाका सबै निर्वाचन स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रत्येक मतदान केन्द्रमा कम्तीमा आठ जना र अन्य स्थानमा २८ जनाका दरले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोली परिचालन गरिएको बताउनुभयो । 

घिमिरेका अनुसार सबै पालिकाको गस्तीका लागि ४० वटा मोबाइल टोली पनि परिचालन गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र तथा मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरिएको छ । साथै प्रचारप्रसार, मतदान केन्द्र रहेको वरिपरि शान्ति भङ्ग नगर्ने तथा मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको छ ।

यस्तै पूर्वी नवलपरासीका आठवटै पालिकाका मतगणना स्थलको सुरक्षाका लागि तारजाली लगाइएको छ । स्थानीय तहको निर्वाचनपछि मतगणना गर्ने स्थलमा तारजाली लगाइएको हो । आठवटै पालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका ठूला कोठामा तारजाली लगाइएको हो । 

मतगणना स्थलको सुरक्षाका लागि कर्मचारी र उम्मेदवारका प्रतिनिधिबाहेक अरूलाई प्रवेश निषेध गर्न र सुरक्षा व्यवस्था कडा पार्न तारजाली लगाइएको बताइएको छ । मतगणना स्थलमा सीसी क्यामरा पनि जडान गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो  ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले मतपेटिका ल्याइएपछि राख्ने स्थल र गणनास्थलको विशेष सुरक्षाका लागि निर्वाचन आयोगको निर्देशनअनुसार व्यवस्था भएको र सबै पालिकामा मतगणना सकिएपछि पालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने र गणना गर्ने व्यवस्था मिलाइएको छ । 

तनहुँ समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । निर्वाचनमा कर्मचारी खटाउनुपर्ने भएकाले बिहीबार र शुक्रबार गरी दुई दिनका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । यसैगरी प्रशासनले शुक्रबारका लागि एम्बुलेन्सलगायतका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको छ । एम्बुलेन्स, दमकल, दूरसञ्चार, स्वास्थ्य सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सवारीसाधनबाहेकका अन्य सबै यातायातका साधन बन्द हुने कार्यालयले जनाएको छ । निर्वाचनको समाचार सङ्कलनमा जाने सञ्चारकर्मी तथा निरीक्षणमा जाने मानव अधिकारकर्मीका लागि सवारी इजाजत प्रदान गरिएको छ ।  

तनहुँमा ३४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्लास्थित २९७ केन्द्रमध्ये उक्त सङ्ख्यामा महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँँकी सूचना अधिकारी दुर्गामाया आलेले जानकारी दिनुभयो । विगतमा सम्पन्न निर्वाचनमा माहिलाले कुशलतापूर्वक कार्य सम्पादन गर्न सफल भएकाले महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई मतदान अधिकृत तोकिएको जानकारी उहाँले दिनुभयो ।

निर्वाचनको कामअन्तर्गत मतदान स्थलको तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्वदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिनेलगायतका काम भइरहेको मतदान अधिकृतहरूले बताएका छन् । यसअघि दुई पटक कार्य गरिसकेको अनुभव भएकाले काम गर्न सहज भएको व्यास नगरपालिका–३, ज्ञानकुञ्ज, दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय ‘ख’ केन्द्रकी मतदान अधिकृत गीतादेवी लम्सालले बताउनुभयो । 

म्याग्दे गाउँपालिका–४, थर्पुस्थित मीन माध्यमिक विद्यालयको माध्यमिक तहकी शिक्षिका लम्सालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको भीरकोट नगरपालिकामा र सङ्घ तथा प्रदेशको निर्वाचनमा व्यास नगरपालिका–१०, दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा काम गरेको अनुभव रहेको जानकारी दिनुभयो । व्यास नगरपालिका–२, दमौली बजारस्थित सत्यवती माध्यमिक विद्यालयलको ‘ख’ केन्द्रकी मतदान अधिकृत अम्बिका घिमिरेले जिम्मेवारी सम्हाल्न कठिन नभएको बताउनुभयो ।