• ११ असोज २०८१, शुक्रबार

न्यायाधीश हरिहर भवन निवासमा सर्ने

blog

ललितपुर, असोज ९ गते । यस वर्षको दसैँअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासमा सर्नुहुने भएको छ । सङ्घीय मन्त्रीपरिषद्का अधिकांश सदस्य (मन्त्री) हरिहर भवन मन्त्री निवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्री निवासमा सरेपछि न्यायाधीशहरू त्यहाँ सर्न लाग्नुभएको हो ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवती कण्ठका अनुसार अहिले शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, वन तथा वातावरण राज्यमन्त्री रूपा विक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पुल्चोकस्थित मन्त्री निवासमा हुनुहुन्छ । अन्य मन्त्रीहरू भैँसेपाटीस्थित मन्त्री निवासमै हुनुहुन्छ । 

भैँसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासको रङरोगन तथा फिनिसिङ भइरहेको छ । पहिलो चरणमा पाँच जना न्यायाधीश सर्नुहुने छ । हरिहर भवन मन्त्री निवासको ‘बी’ ब्लकको ‘डी वान’ देखि ‘डी फाइभ’ सम्म न्यायाधीश बस्नुहुने तयारी गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले दसैँअघि नै पाँच जना न्यायाधीश पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासमा बसाइ सर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले वरिष्ठताका क्रममा न्यायाधीशहरू हरिहर भवन निवास सर्नुहुने तयारी रहेको बताउनुभयो । 

उहाँका अनुसार न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडाल हरिहर भवनमा सर्नुहुने तयारी गरिएको छ । २०७९ फागुन १० गते बसेको मन्त्रीपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरू भैँसेपाटी निवासमा सरेपछि सो निवासमा सर्वोच्चका न्यायाधीशहरू र मुख्य रजिस्ट्रारलाई राख्ने निर्णय गरेको थियो । भैँसेपाटीमा २४ मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि निवास निर्माण गरिएको छ ।