• ११ असोज २०८१, शुक्रबार

गर्मीले नेपालगन्जको जनजीवन प्रभावित : अस्पतालमा बिरामी बढे

blog

अत्यधिक गर्मीले भेरी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको भीड। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ८ गते। नेपालगन्जमा केही दिनयता बढेको गर्मीले गर्दा नेपालगन्ज लगायत बाँके जिल्लाको जनजीवन प्रभावित बनेको छ।  चिसो मौसम सुरु हुने समयमा गर्मी बढेसँगै सर्वसाधारणको दैनिकीमा नराम्रो असर परेको स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।  

यो गर्मी बेग्लै प्रकारको रहेको जनाउँदै यसले उकुसमुकुस हुँदा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई धेरै असर गरेको पाइएको छ।  स्थानीयका अनुसार गर्मीले छटपटी र उकुसमुकुस बनाउँदा पङ्खा र कुलर चलाएर बस्दा समेत शीतलता प्राप्त हुन सकेको छैन।  

नेपालगन्ज ११ का स्थानीय गयास सिद्धिकीका अनुसार असोजको पहिलो हप्ता सकिनै लाग्दा पनि गर्मी झन् बढ्दै गएपछि सबै हैरान र बेहाल भएका छन्।  घरमा र घर बाहिर दुवै ठाउँमा जहाँ गए पनि अवस्था उस्तै छ।  

केही दिनयता गर्मी बढेका कारण स्थानीय अस्पतालमा बिरामीको पनि चाप अत्यधिक बढेको अस्पतालले जनाएका छन्।  सबैभन्दा बढी बिरामीको उपचार गर्ने यहाँस्थित भेरी अस्पतालमा अहिले दैनिक तीन सय बढी बिरामी गर्मीपछिको समस्या लिएर पुग्ने गरेको अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो।  

यस्तै केही दिन यता बिरामीको सङ्ख्या एक्कासि फेरि बढेको नेपालगन्ज मेडिकल कलेजले पनि जनाएको छ।  नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाईले गर्मीले गर्दा फेरी एक पटक बिरामीको चाप बढेको बताउनुभयो।  उहाँले अहिले अस्पतालमा दैनिक २०० बढीको सङ्ख्यामा गर्मीकै कारण बिरामी भएर आउने रहेको बताउनुभयो।  

यसैबिच जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले असोज १० देखि १२ गतेसम्म बाँके र सो वरिपरिका जिल्लामा ठुलो वर्षा हुने सम्भावना मौसम विभागले जानकारी गराएको हुँदा दुई दिनपछि राहत मिल्ने बताउनुभएको छ।