• ११ असोज २०८१, शुक्रबार

वालिङमाथि आर्मीको फराकिलो जित

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र वालिङका खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, असोज ८ गते । विभागी टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा वालिङ नगरपालिकामाथि फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले वालिङलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन चन्द्र भण्डारीले ह्याट्रिक गर्नुभयो । विमला विक र अमिशा कार्कीले दुई दुई गोल गर्नुभयो । 

आर्मीले अर्को गोल आर्मीबाट आत्मघाती उपहार पाएको थियो । खेलभर आर्मीको दबाब झेलेको वालिङले गोल गर्न लायक अवसर बनाउन सकेन । जितसँगै आठ खेलबाट १९ अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अङ्क जोड्दै चौथो स्थानमा छ । 

मङ्गलबार नै भएको अर्को खेलमा बागमती युथ क्लबले संकटा क्लबलाई ३–१ गोलले पराजित गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।