• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज राखिने

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज ८ गते । ओखलढुङ्गाको पहिरे खोलामा अस्थायी बेलिब्रिज राखिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका सङ्घीय सांसद रामहरि खतिवडाको पहलमा पहिरे खोलामा बेलिब्रिज राखिने भएको हो । 

हाल इलामको पुवा खोलामा रहेको बेलिब्रिज ल्याएर ओखलढुङ्गाको पहिरे खोलामा राख्ने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् सङ्घीय सांसद खतिवडाले बताउनुभयो । इलामबाट नेपाली सेनामार्फत ढुवानी गरेर ल्याउने र जडान गर्ने तयारी भएको समेत सांसद खतिवडाले जानकारी दिनुभयो। यस विषयमा रक्षा मन्त्रालयसँग समन्वय भएको सभापति खतिवडाको भनाइ छ । 

पहिरे खोलाको समस्या स्थायी रूपमा समाधान भएपछि बेलिब्रिज पुनः नेपाल सरकारलाई फर्काउने गरी ल्याउन लागिएको बताइएको छ । पहिरे खोलाले बर्सेनि बर्खाको समयमा ओखलढुङ्गा सदरमुकामदेखि पश्चिम क्षेत्रका मोलुङ, सुनकोशी, खिजिदेम्बा, लिखु र चम्पादेवी गाउँपालिकाका नागरिकलाई सवारी आवतजावतमा कष्ट दिने गरेको छ । यो पहिरोले नागरिकलाई दिएको दुःखका कारण जिल्लाका सङ्घ र प्रदेश सांसदहरू आलोचित हुनुपरेको छ । 

वर्षौँअघि देखि पहिरे खोलामा पक्की पुल राख्न नागरिकले माग गरेका छन् । करिब दुई वर्षअघि प्रदेश सरकारबाट पहिरे खोलामा मोटोरेवल पुल बनाउन ठेक्का आह्वान गरेको भए पनि विविध कारणले उक्त योजना रद्द भएको थियो ।