• ११ असोज २०८१, शुक्रबार

चाडपर्वको नाममा हुने तडकभडक अन्त्य हुनुपर्छ : पूर्वमन्त्री चौधरी

blog

पूर्वमन्त्री भगवती चौधरी गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम-२०८१’ कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : सांसद चौधरीको सचिवालय

सुनसरी, असोज ८ गते । पूर्वमन्त्री भगवती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताउनुभएको छ । थारु महिला तथा तराइवासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम-२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुनसरी ३ का सांसद समेत रहनुभएका उहाँले त्यस्तो बताउनुभयो ।

पछिल्लो समय सबैजसो चाडपर्वहरू भड्किलो बन्दै गएको भन्दै उहाँले यसलाई नियन्त्रण गर्दै लैजानुपर्ने बताउनुभयो । ‘‘चाडपर्वको संरक्षण गर्नुपर्छ । चाडपर्वको संरक्षण गर्नु पहिलो दायित्व जुन समुदायले मनाउने त्यही समुदायको हुन्छ । त्यसपछि समाज र राज्यको दायित्व हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘तर पछिल्लो समय चाडपर्वहरू भड्किलो बन्दै गएका छन् । यो पक्कै पनि राम्रो कुरा होइन । चाडपर्वहरू सबैले अपनत्व ग्रहण गर्ने खालको बन्नुपर्छ ।’’

हुनेखानेहरूले गरगहना प्रदर्शन गर्ने र विपन्न वर्गले मन दुखाउने गरी पर्व मनाउन नहुने उहाँको भनाइ थियो । ‘‘हिजो एक/दुई दिनमा मनाइने चाडपर्वहरू आज महिनौँ दिनसम्म मनाउने चलन चल्न थालेको छ । यो पक्कै पनि राम्रो विषय होइन । यसले हामीलाई आर्थिक रूपमा पनि हानी गर्छ भने, समयको पनि अनावश्यक खर्च हुन्छ’’, पूर्वमन्त्री चौधरीले भन्नुभयो ।

जितिया पर्व तराईको महत्त्वपूर्ण लोक पर्व हो । यो पर्व विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्धिको कामना गर्दै महिलाहरू व्रत बस्ने गर्छन् । तीन दिनसम्म चल्ने व्रत असोज सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक गरिन्छ ।

विशेष गरेर थारु र तराईका महिलाहरूले आफ्नो सन्तानको दीर्घायु र प्रगतिको कामना गर्दै खोला(नालामा गई धूमधामसँग जितिया पर्व मनाउँछन्  ।