• ११ असोज २०८१, शुक्रबार

बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुहुँदै मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौँ, असोज ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ ।

काठमाडौँ ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भन्नुभएको थियो ।

एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबिचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थाल्नुभएको थियो ।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभयो ।  त्यसलगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आए पछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

बुधबार पुनः निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराउनुभयो । मन्त्रीसामु सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए ।

सडकअन्तर्गतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गङ्गालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ । प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।