• ११ असोज २०८१, शुक्रबार

चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

blog

मिना कंडेल 

कावासोती, असोज ८ गते । जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ  । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको हो। 

योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजना अनुसार नेपाल प्रहरीको तर्फबाट तीन सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट एक सय ७८ जनाको जनशक्ति परिचालन हुनेछ । चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता कार्यलाई निरुत्साहित बनाउँदै आम नागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरी रेग्मीले जिल्ला प्रहरी कार्यालयले दैनिक रुपमा कमाण्ड पोष्ट, सवारी गस्ती, एकाइहरुको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, पिकेट, धार्मिकस्थल÷पर्यटक स्थलको सुरक्षा ,बजार अनुगमन, यात्रु सहायता कक्षमा प्रहरी परिचालित गरिने बताउनुभयो । 

चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुँदा यात्रुहरुलाई सहज आवागमनका लागि राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरिनेछ। त्यस्तै प्रहरीले धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । 

सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैध मदिरा नियन्त्रणका लागि पनि प्रहरी परिचालन गर्ने तयारी छ ।