• ११ असोज २०८१, शुक्रबार

बरपिपल चौतारी सामाजिक कार्यस्थल पनि

blog

लहान समाचारदाता

लहान, असोज ८ गते । लहान नगरपालिका–१३ र २४ को सिमानामा रहेको बर र पिपल दुवैले दिइरहेको माया र छायाले आत्मा प्रफुल्ल पारिरहेको स्थानीयले बताएका छन् । 

धार्मिक र वातावरणीय दृष्टिकोणले समेत बरपिपलको रुखलाई उपयोगी मानिने जनविश्वास त छ नै । करिब डेढ सय वर्ष पुरानो भएको बरपिपल यस भेगको अभिभावकीय वृक्ष भएको पनि स्थानीयको भनाइ छ । घरमा तनाव हँुदा होस् वा असाध्यै गर्मी भएको बेला होस्, चाहे सामाजिक छलफल होस्, यही बरपिपलको छहारीमा आउने गरेको स्थानीय सुभाष कोइरालाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बिहानदेखि राति १२ बजेसम्म यी दुवै बरपिपलको छहारीमा बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइरहेका हुन्छन् । गर्मीका बेला त झन् अधिकांश गाउँलेको समय यहीँ बित्छ ।” 

पिललको अगाडि त्यत्तिकै पुरानो पक्की इनार र त्यससँगै जोडिएको पुरानो रामजानकी मन्दिर छ । त्यस भेगमा पानी खानका लागि खनिएको सबैभन्दा पुरानो पक्की इनार भएकाले त्यस गाउँको नाम पक्की टोल रहन गएको अर्का स्थानीय मनोज कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बरपिपलको रुख भएको चौबाटो बाहिर जाने बटुवाका लागि पनि सङ्गम स्थल रहेको छ । लहान–२४ मा रहेको सलहेस पर्यटकीय स्थल मानिक दह, लहान–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय र पश्चिम धनगडीमाई नगरपालिका जाने र उत्तरमा राष्ट्रिय राजमार्गसँग जोडिने सङ्गम स्थलका रूपमा समेत परिचित छ ।” स्थानीयवासी मात्र होइन, राजनीतिक दलका नेताहरूको आपसी छलफल गर्ने थलो पनि यही चौतारी बनेको छ । 

समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरी र नेकपा (एमाले) का सङ्घीय सांसद गङ्गाप्रसाद यादव धेरै पटक यही चौतारीमा बसेर भलाकुसारी गर्ने गरेको स्थानीय बताउँछन् । अहिले वडा नं. १३ को वडा कार्यालय र प्रहरी चौकीसमेत स्थापना भइसकेकाले दिनभरि यही बरपिपलमुनि बसेर कतिपय सामाजिक विवादसमेत मिलाउने गरिन्छ ।

सहरी विकास मन्त्रालयबाट दुई करोड ९० लाख रुपियाँको लागतमा रामजानकी मन्दिर निर्माण, बालउद्यान, योगाभ्यास निर्माण सुरु भएपछि यस ठाउँको विकासले थप गति लिने लहान–२४ का वडाध्यक्ष रासलाल रायले बताउनुभयो । उहाँले भन्नुभयो, “यस बरपिपलको चौतारालाई व्यवस्थित गर्न वडा नं. १३, १४ र २४ ले साझा कार्यव्रmम बनाएरसमेत अगाडि बढ्ने योजना बनाएका छौँ ।” मधेशी र पहाडी समुदायको मिश्रित बस्ती रहेको यस स्थलमा प्रहरी चौकी स्थापना भएपछि झन् सुरक्षित र रमणीय भएको छ ।