• ११ असोज २०८१, शुक्रबार

पर्यावरणीय कृषि अवधारणा

blog

ली बर्ड पोखराद्वारा आयोजित संंस्थागत सामाजिक परीक्षण कार्यक्रममा प्रदर्शन गरिएका स्थानीय उत्पादन ।

पोखरा समाचारदाता 

पोखरा, असोज ८ गते । कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्धन गर्न पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा कृषि तथा सो क्षेत्रमा आबद्ध विज्ञले जोड दिएका छन् । पोखरामा आइतबार भएको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली बर्ड) पोखराद्वारा आयोजित संस्थागत सामाजिक परीक्षण कार्यक्रममा विज्ञले यस्तो जोड दिएका हुन् । 

कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव डा. टङ्कप्रसाद प्रसाईले गैरसरकारी संस्थाको प्रभावकारी समन्वय र सहकार्यमै सरकारका काम किसानबिच लैजान सहज भएको बताउनुभयो । उहाँले कृषिलाई उत्पादन र उद्यमशीलतामा जोड्ने नीतिका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । महिलामैत्री कृषि प्रविधि र औजार, हरित कृषि उद्यम एवं समुदायको पर्यावरणका बारेमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा पर्यावरणीय कृषि परियोजनामार्फत गण्डकी, बाग्मती र कर्णालीमा गरी करिब चार हजार किसान लाभान्वित भएको बताएको छ । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि क्षेत्रमा नीतिमात्र बनाएर नभई हरेक सरकारले कार्यान्वयन पक्षलाई बलियो बनाएर लैजानुपर्ने बताउँदै आफ्नो पालिकामा रैथाने जातको बिउ बैङ्क स्थापना गरिएको बताउनुभयो । 

कृषि क्याम्पस पुरनचौरका क्याम्पस प्रमुख प्राडा दुर्गा देवकोटाले ली बर्डकै सल्लाहबमोजिम कृषि क्षेत्रमा नयाँ पाठ्यक्रम सुरु गर्ने बताउँदै कृषि क्षेत्रमा काम गर्ने प्राविधिकले किसानकै घरदैलोमा गएर मेहनती किसानलाई मात्र नभई अल्छी किसानलाई पनि परामर्श दिन सुझाव राख्नुभयो । 

कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक वासु रेग्मीले सामुदायिक बिउ बैङ्कदेखि लिएर जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखेर प्रदेश लोक सेवा आयोगमा समेटिएकोसमेत जानकारी गराउनुभयो ।