• ११ असोज २०८१, शुक्रबार

बालविवाह कायमै समाजमा कानुनभन्दा परम्परा बलियो

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असोज ८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनभन्दा अन्धविश्वास र परम्परागत मूल्यमान्यता बलियो हुँदा कर्णालीमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण रहेको बताउनुभएको छ । उहाँले कानुनी रूपमा बालविवाह अपराध मानिए पनि विभिन्न समुदायमा परम्परागत मूल्य मान्यताले गर्दा बालविवाह कायमै रहेको र जसका कारण न्यूनीकरणमा चुनौती थपिएको जनाउनुभयो । 

सामाजिक विकास मन्त्रालयले विभिन्न साझेदार सङ्घ/संस्थाको समन्वयमा सोमबारदेखि आयोजित कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरणका असल अभ्यास सङ्कलनसम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

उहाँले कर्णालीमा विगतको भन्दा सुधार आए पनि अझै पनि अन्धविश्वास र परम्परागत मान्यताका कारण बालविवाह कायमै रहेको बताउनुभयो । उहाँले बालविवाह न्यूनीकरणका लागि विभिन्न सङ्घ/संस्थाले थालेको अभियानलाई समर्थन गर्दै त्यस्ता अभियानमा सरकारी निकायसँग समन्वय गर्न पनि सुझाव दिनुभयो । यस्ता अभियानले आगामी दिनमा बालविवाह न्यूनीकरणमा सुधार आउने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले एक्लाएक्लै नगई सामूहिक रूपमा समन्वय गरेर अगाडि बढे सबैले सोचेको लक्ष्य प्राप्ति गर्न सकिने उल्लेख गर्नुभयो । कार्यशालाबाट आएका असल अभ्यास सङ्कलन गरी प्रदेश सरकारलाई बुझाउन पनि उहाँले आग्रह गर्नुभयो । 

बालविवाहविरुद्धको साझा अभियान सञ्जालका प्रदेश संयोजक पवित्रा शाहीले कर्णालीमा बालविवाह बढ्दै गएपछि १०७ वटा सङ्घ/संस्था एकै ठाउँमा उभिएर बालविवाहविरुद्धको साझा अभियान थालिएको बताउनुभयो । अहिले कर्णालीका ३० वटा पालिकामा यो बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिएको र त्यहाँ बालविवाहविरुद्ध नीति तथा कार्यक्रम बनाएर सचेतना अभियान थालिएको उहाँको भनाइ छ । यस अभियानले बालविवाह न्यूनीकरण हुने दाबी गर्दै उहाँले बालविवाह अन्त्य नहुने बेलासम्म सञ्जाल सक्रय रहने उल्लेख गर्नुभयो । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोख्रेलले कर्णालीको समृद्धिको बाधकका रूपमा बालविवाह पनि एक भएको औँल्याउनुभयो । उहाँले सरकारी तथा गैरसरकारी निकायले संयुक्त रूपमा थालिएको न्यूनीकरण अभियानले सफलता प्राप्त गर्ने दाबी गर्दै आगामी दिनमा कर्णालीको बालविवाह न्यूनीकरणका कारण अवस्थामा सुधार आउने उल्लेख गर्नुभयो । 

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले कर्णालीमा बालविवाहका अवस्थाबारे प्रकाश पार्दै कर्णालीमा बालकभन्दा बालिकाले बढी बालविवाह गर्ने गरेको जनाउनुभयो । उहाँले कर्णालीमा २० वर्षमुनिका २०.५ प्रतिशत बालविवाह हुने गरेको बताउनुभयो । जसमा बालक १२.१ प्रतिशत र बालिकामा २७.४ प्रतिले बालविवाह गर्ने गरेका छन् । उहाँले कर्णाली प्रदेशले बालविवाहविरुद्धको प्रादेशिक रणनीति तयार गरिसकेको जनाउनुभयो । कर्णालीलाई बालविवाह, छाउपडीमुक्त प्रदेश बनाउनका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटको व्यवस्थासमेत गरिसकेको जानकारी उहाँले दिनुभयो ।