• ११ असोज २०८१, शुक्रबार

सहज यातायातको व्यवस्था मिलाउन निर्देशन

blog

छिन्चु समाचारदाता

सुर्खेत, असोज ८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज हुने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफल कार्यक्रममा उहाँले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यति नै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरी यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन पनि व्यवसायीलाई सुझाव दिनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री कँडेलले सुरक्षा जाँचलाई थप सहज बनाउन पनि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “तपाईंहरूले आवश्यकताका आधारमा जहाँ पनि जाँच गर्न सकिन्छ तर आवश्यकता नदेखिएको ठाउँमा जाँच गर्ने कुराले यात्रुले अनाहकमा दुःख पाउँछन् त्यसलाई कसरी हो सुधार्नेतर्फ ध्यान दिनुहोला ।”

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई नयाँ तरिकाले सम्बोधन गर्न लागिएको बताउनुभयो । उहाँले बजारको चाप बढेसँगै अहिलेको पार्किङको व्यवस्था साँघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरू बेलाभन्दा चाडबाडका बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाडबाडलक्षित सडक सुरक्षा बनाएको बताउनुभयो । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा एक जना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नुपर्ने बताउँदै जनशक्ति र साधन स्रोतको अभाव भएको उल्लेख गर्नुभयो ।