• ११ असोज २०८१, शुक्रबार

विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल

blog

विद्यालयमा बसेका छाडा चौपाया ।

धनगढी समाचारदाता

धनगढी, असोज ८ गते । बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो । विद्यालयमा घेरबार र गेट नहुँदा रातिको समय छाडा चौपाया आएर विद्यालयमा बस्ने गरेका छन् । 

 विद्यालयमा छाडा चौपाया बस्न थालेपछि दैनिक कक्षा सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताउनुभयो । राति बसेका छाडा चौपायाको गोबर र मूत्र दैनिक रूपमा सफा गरेर मात्रै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको उहाँको भनाइ छ । 

“हाम्रा दुई जना कार्यालय सहयोगीले दैनिक रूपमा छाडा चौपायाको मलमूत्र सफा गर्नु पर्छ,” भण्डारीले भन्नुभयो, “त्यस्तै परे कहिलेकाहीँ विद्यार्थीले पनि सफा गर्छन् । सफा गरेर विद्यालय सञ्चालन गर्ने गरेका छौँ ।”

विद्यालयमा हरेक रात छाडा चौपाया बस्ने गरेको जनाइएको छ । नजिकै रहेको गेटा सामुदायिक वनमा दिनभरि चरेर छाडा चौपाया राति विद्यालयमा आउने गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । मान्छेले पनि लखेटेर छाडा चौपायालाई विद्यालयतिरै धपाउने गरेको उहाँको गुनासो छ । पानी परेका बेला लगभग ८०/९० छाडा चौपाया विद्यालयमा बस्ने गरेको भण्डारीले बताउनुभयो । 

सो विद्यालयमा आधा घेरबार गरिएको छ । तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तीन वर्ष पाँच/पाँच लाख बजेट दिएपछि आधा घेरबार गरिएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो तर आधा घेरबार नभएकाले बनाएको घेरबार पनि काम लागेको छैन । “घेरबार पूरा नहुँदा आधा बनाएको घेरबार पनि काम नलागेकाले सबैतिर घेरबार र एउटा गेट आवश्यक छ,” उहाँले भन्नुभयो । नवज्योति आधारभूत विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । 

छाडा चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौँ खर्च गरिसके पनि समस्या अझै समाधान हुन सकेको छैन ।