• ११ असोज २०८१, शुक्रबार

प्रहरी हिरासतबाट फरार नौ थुनुवामध्ये सात जना पक्राउ

blog

धनुषामा हिरासतबाट फरार भएका थुनुवाहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, असोज ७ गते ।
 जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष फोडेर फरार भएका नौ जना थुनुवामध्ये सात जनालाई प्रहरीले पक्राउ गरेका छन् । सोमबार बिहान ४ बजे हिरासत कक्षको भेन्टिलेसन फोडेर नौ जना थुनुवा फरार भएका थिए ।

फरारमध्ये महोत्तरीको जलेश्वर नगरपालिका-५ का सत्यम झालाई तत्कालै प्रहरीले जनकपुरको जनक चोकबाट पक्राउ गरेको थियो । थप छ जनामध्ये तीन जनालाई धनुषाको विदेह नगरपालिकाको महिनाथपुर र अन्यलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का रोशनकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका-१३ का अभाष्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-२० का अमितकुमार झा रहेका छन् ।

त्यस्तै अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम ४ का बिक्की कार्की, जनकपुरधाम १ का सुमित मेस्तर, धनुषाको नगराइन नगरपालिका २ का मनिष मण्डल रहेका छन् ।

लागुऔषध मुद्दाका धनुषाको विदेह नगरपालिका ७ का रञ्जित मण्डल र औरही गाउँपालिका २ का विशाल मुखिया अझै फरार अवस्थामा रहेका छन् । फरार रहेका दुई जनालाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको प्रवक्ता अवाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा महिलाका लागि एकसहित तीन वटा थुनुवा कक्ष रहेका छन् । थुनुवा कक्षको सुरक्षाका लागि पाँच जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ ।

एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि  घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति बनाएको प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दीपक भारतीले घटना सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिने बताउँदै यस कार्यालयबाट पनि छानबिन समिति बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेसनको रड ह्याक्सो ब्लेडले काटर थुनुवाहरू फरार भएको देखिन्छ । थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ ।’’ अहिले फरार अवस्थामा रहेका दुई जना थुनुवालाई पक्राउ गर्न जनपद, सशस्त्र र दङ्गा प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले बताउनुभयो ।