• ११ असोज २०८१, शुक्रबार

सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सहमति

blog

बैठकमा सहभागी नेपाल भारतका सुरक्षाकर्मी ।

अविनाश चौधरी

धनगढी, असोज ७ गते । नेपाल र भारतका सुरक्षाकर्मीबिच सीमाक्षेत्रमा हुने विभिन्न पराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ । सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरमा बसेको समन्वयात्मक बैठकमा सो सहमति गरिएको हो । 

त्यस्तै, दशगजा तथा सीमा अतिक्रमण हुन नदिने, सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने सहमति भएको गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो । 

अवैध रुपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, अवैध हातहतियार ओसारपसार, अवैध लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने पनि दुवै देशका सुरक्षा अधिकारीबिच सहमति भएको छ । बैठकमा सीमामा हुने विदेशी घुसपैठ तथा अपराध रोकथामलगायतका विषयमा छलफल भएको गणपति पाण्डेयले जानकारी दिनुभयो। 

त्यस्तै, दसैं, तिहार लगायतका चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीमाथि सीमा क्षेत्रमा लुटपाट हुन नदिन दुवै देशका सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ । चाडपर्व मनाउनका लागि भारतबाट फर्किने क्रममा धेरै नेपाली सीमा क्षेत्रमा लुटिने गरेका छन् ।

बैठकमा गणपति पाण्डेयसहित सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपाने, पूर्णबहादुर चन्द, गान्धिवराज स्याङतान, भारतीय सशस्त्र सीमा बल नम्बर ३ बटालियन लखिमपुर खिरीका कमाण्डेट देवानन्दसहित, एसआई (जिडी), राजेन्द्र जाटको उपस्थिति थियो ।