• ११ असोज २०८१, शुक्रबार

ग्यास सिलिन्डर र चुल्हो वितरण

blog

धुँवामुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत लिबाङवासीलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको गाउँपालिकाले वडा –३ लिबाङका बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार प्रत्येक परिवारलाई एक सेटका दरले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको छ । यस पटक लिबाङका तीनसय ८५ परिवारलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको थापाले जानकारी दिनुभयो । 

वडावासीलाई वडा कार्यालयमा केन्द्रित गरी प्रतिपरिवार एक सेटका दरले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीको उपस्थितिमा ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको थापाले जानकारी दिनुभयो । गत आर्थिक वर्षदेखि गाउँपालिकालाई धुँवामुक्त बनाउने अभियान सुरु गरेको गाउँपालिकाले लिबाङमा ३७ लाख रुपियाँ बजेटको लगानीबाट सिलिन्डर र चुल्हो वितरण गरेको छ । 

कुल रकममध्ये गाउँपालिकाको २७ लाख र मेवा डेभलपर्स लिमिटेडले १० लाख रुपियाँ सहयोग गरेको गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष वडा १ र २ खोक्लिङमा गाउँपालिकाले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको थियो । पाँचवटा वडा रहेको गाउँपालिकामा अब वडा ४ साँवा र वडा ५ पापुङ बाँकी रहेको छ । वडा ४ साँवामा चालू आर्थिक वर्षभित्र ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।